कास्कीबाट रवीन्द्र अधिकारीको ह्याट्रिक


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

२३ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी विजयी भएका छन् ।८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै विजयी भएका हुन् ।

अधिकारीले २७ हजार २सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याए ।

प्राज्ञिक र बलियो उम्मेदवारको रुपमा हेरिएका चालिसेलाई हारको स्वाद चखाउँदै उनले कास्कीबाट तेस्रो पटक पनि जीत निकाल्दै हृयाट्रिक पूरा गरेका छन् ।

२०५६ सालमा तत्कालीन नेकपा मालेबाट कास्की क्षेत्र नम्बर १ मा अधिकारीले चुनाव हारेका थिए । त्यतिबेला उनले १ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए ।

पहिलो संविधान सभाको निर्वाचनमा माओवादी उम्मेदवार झलकपाणि तिवारीसँगको प्रतिस्पर्धामा झन्डै २ हजार ५ सय मतले निर्वाचन जितेका रवीन्द्र अधिकारीले दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवार सोभियतबहादुर अधिकारीलाई २ हजार ३ सय २ मतले हराउँदै विजयी भएका थिए ।

कांग्रेसले बलियो उम्मेदवारको रुपमा उभ्याएका चालिसेसँग अधिकारीको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति बनेका चालिसे र अधिकारीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि अधिकारीका अघि चालिसेको जोर चलेन ।

को हुन अधिकारी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिलाउन पहल गरेर रवीन्द्र अधिकारी धेरैको नजरमा परे । गायक प्रवीण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसको उपाधि खोस्ने आन्दोलनले अधिकारीले ख्याति नै कमाए ।

पृथ्वीनारायण क्याम्पसदेखि त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुने बेलामै धेरैका नजरमा आशालाग्दा नेताका रुपमा परेका हुन्, रवीन्द्र । उनै रवीन्द्रले कास्कीबाट दुई पटक चुनाव जिते ।

लेखा समितिदेखि विकास समिति सभापतिसम्म आइपुग्दा उनले झनै चर्चा कमाए । विकास समिति सभापति समेत बनिसकेका अधिकारीलाई यो जीतसँगै उनलाई थप राम्रो काम गर्ने बाटो खुलेको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य अधिकारी एमाले कास्की जिल्ला कमिटीका सदस्य, सचिव र एमाले कास्की जिल्ला कमिटीका सचिव, एमाले कास्की जिल्ला कमिटी अध्यक्षसमेत भएर काम गरे । अधिकारी तल्लो तहका मतदातासँग पनि नजिक र आत्मीयता प्रस्तुत गरेर यसअघि देखिनै परिचित थिए ।

कास्की क्षेत्र नं. २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा छ । गत स्थानीय निर्वाचनमा कांग्रेस, एमाले र माओवादीका वडाध्यक्ष उम्मेदवारले पाएको मत हेर्ने हो भने अधिकारीको पल्ला भारी थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com