प्रधानमन्त्रीको स्वागतमा उभिएकाहरु हेलिकप्टरको धूलोले भागाभाग [फोटोफिचर]


प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

– मनोज पौडेल, कपिलवस्तु

मंसिर १२, २०७४-चुनावमा नेता हेलिकप्टर सयर गरेर मस्तीमा छन् भने प्रहरी प्रशासक भने धुलाम्य भई सास्ती खेपिरहेका छन् । कांग्रेस सभालाई कपिलवस्तुमा संबोधन गर्न मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेता हेलिकप्टरमा तौलिहवा आउँदा प्रहरी, सेना र सशस्त्रका प्रमुख र प्रजिअ धुलाम्य बनेका थिए । देउवाको स्वगतका लागि प्रहरी कार्यालय नजिकै बनाइएको हेलिप्याड पुगेका उच्च प्रशासक हेलिकप्टर ल्याण्डिङ हुँदा धूलोबाट बच्न भागाभाग गरेका थिए ।

नेपाल प्रहरी उपरीक्षक भोजजंग शाह, सशस्त्रका उपरीक्षक भगवान मल्ल, प्रजिअ मदन भुजेल र सेनाका कर्णेल गाडीको आड लिएर धूलोबाट बच्न लुकेका थिए । कतिपयले रुमालले नाक र मुख छोप्दै पर पर भागेका थिए । देउवाको स्वागतका लागि पुगेका नेता दिपकुमार उपाध्याय, सुरेन्द्र आचार्य र अभिषेकप्रताप शाह पनि धूलोबाट जोगिन गाडी छेउ गएर लुकेका थिए । सेनाको नाईन एन आएजे कल साईनको ठूलो जहाज हुँदा ल्याण्ड गर्दा धेरै धूलो उडाएको थियो ।

२ मिनेटपछि धूलो उड्न छाडेपछि सबैले आ-आफनो कपडा झार्दै स्वागतका लागि तयार भएका थिए । धूलोले हेलिकप्टरको सुरक्षार्थ तैनाथ प्रहरी, सशस्त्र र सेनालाई पनि समस्या बनाएको थियो । मंगलबार सभालाई संबोधन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला र उद्योगपति विनोद चौधरीलगायत यहाँ आएका थिए । नेताका लागि दुईवटा हेलिकप्टर यहाँ आएका थिए ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com