हेलिकप्टर चढ्ने विषयमा दलका प्रतिनिधिबीच विवाद, मतपेटिका नलिई फर्कियो हेलिकप्टर


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

मंसिर ११, २०७४-हेलिकप्टर चढ्ने विषयमा राजनीतिक दलका प्रतिनिधिबीच विवाद भएपछि दुर्गम गाउँपालिका काँडाको मतपेटिका नलिई हेलिकप्टर फर्किएको छ । मतपेटिका संकलन गर्न गएको हेलिकप्टरमा आफूहरु पनि चढ्न पाउनुपर्ने माग दलका मतदान प्रतिनिधिले राखेका थिए । ६ जना मात्र चढ्न मिल्ने हेलिकप्टरमा ठाउँ अभाव भएका कारण क्याप्टेनले दलका सबै प्रतिनिधि नअटाउने बताएपछि विवाद बढेको थियो ।

काँडा गाउँपालिकामा ५ वटा मतदान केन्द्र छन् । नेपाली सेनाको हेलिकप्टरले पहिलो पटक धुलि निम्न माध्यमिक विद्यालयमा रहेको २ वटा मतदान केन्द्रबाट ६ वटा मतपेटिका र दुई जना मतदान अधिकृतलाई ओसारेको थियो । दोस्रो पटकमा काँडाकै धलौन माध्यमिक विद्यालय मतदान स्थलमा रहेका दुई वटा मतदान केन्द्रका ६ वटा मतपेटिका र २ जना मतदान अधिकृतलाई लिएर हेलिकप्टर काँडा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेको थियो ।

जिल्ला पशुसेवा कार्यालयमा राखिएका मतपेटिकाहरु । तस्विर : बसन्तप्रताप सिंह/कान्तिपुर

२ जनाको सिटमा धलौनको मतपेटिका राखिएको थियो । खाली रहेका ४ सिटमध्ये ३ सिटमा धलौनकै मतदान अधिकृत र पत्रकार थियौ’  मतपेटिका संकलनको छायाँकन गर्न काँडा पुगेका कान्तिपुर टेलिभिजनका पत्रकार सुवास कठायतले विवादको कारणबारे भने ‘हेलिकप्टरमा एक जना मान्छे र ३ वटा मतपेटिकाको लागि मात्र ठाउँ थियो । तर दलका प्रतिनिधिले कि त हामीलाई पनि हेलिकप्टरमा लैजानु पर्छ हैन भने मतपेटिका सहित सबै हिंडेर जानुपर्छ भनेर जिद्दी गर्न थाले ।’

को चढ्ने भन्ने विषयमा विवाद भएपछि काँडा माध्यमिक विद्यालयको प्राङगणमा आधा घण्टा भन्दा बढी हेलिकप्टर रोकेर राख्नु परेको थियो । वाम गठवन्धनका तर्फबाट मतदान प्रतिनिधि बसेका व्यक्तिले आफूले हेलिकप्टरमा जान पाउनु पर्ने माग राखेपछि लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिले आफू पनि जान पाउनु पर्ने अडान लिएका थिए ।

धलौनका मतदान अधिकृत र हेलिकप्टरका क्याप्टेनले सिट खाली नभएका कारण एक जना मतदान अधिकृत र मतपेटीका मात्र लैजान सकिने भन्दै लामो समय उनीहरुलाई सम्झाउने प्रयास गरेका थिए ।

विवादका कारण हेलिकप्टरबाट ओसार्न नसकेपछि काँडा माध्यमिक विद्यालय मतदान केन्द्रको मतपेटिका स्थलमार्गबाटै ल्याउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत पूर्ण प्रसाद बाँस्तोलाले बताए । ‘काँडाबाट हिंडेको दुई दिनमा सदरमुकाम आइपुग्छ । कहिले हिड्ने भन्ने

बारेमा छलफल गर्दै छौ,’ उनले भने, ‘रातदिन गरेर भएपनि छिटो मतपेटिका ल्याउने कोसिसमा छौ ।’ विवाद भएको मतदानस्थल सदरमुकामबाट ९० किलोमिटरको दुरीमा छ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com