रामचन्द्रलाई किसानको सुझावः वृद्धभत्ता लिएर देवघाटमा बस्नुस्


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

२९ कात्तिक, तनहुँ । तनहुँ क्षेत्र नं. १ का वाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले कांग्रेस वरिष्ठ नेता एवम् तनहुँ क्षेत्र नं. १ का उम्मेदवार रामचन्द्र पौडेललाई अब वृद्धभत्ता खाएर देवघाटमा बस्न सुझाव दिएका छन् ।

देवघाट गाउँपालिकामा आयोजित सभालाई सम्वोधन गर्दै नेता श्रेष्ठले ०४८ सालदेखि राजनीति गरेर पनि जिल्लाको विकासमा कुनै योगदान नगरेको भन्दै पौडेलको आलोचना गरे । श्रेष्ठले भने ‘रामचन्द्र पौडेल उमेरले ७५ कटिसक्न लाग्नुभयो, अब उहाँसँग कुनै ऊर्जा बाँकी छैन । उहाँबाट तनहुँको विकास हुन सक्दैन । वृद्धभत्ता खाएर देवघाटमा बस्नुस्, विकास गर्ने जिम्मा हामी युवालाई दिनुस् ।’

उनले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल हारको मानसिकताबाट अघि बढेको आरोप लगाए । ‘गोविन्दराज जोशीको उम्मेदवारी खारेज गराउन आफै लाग्नु र निर्वाचन आचारसंहिता विपरित जिल्लाका सहायक सिडियो शिशिर पौडेलको सरुवा गरिनु पौडेल हारका उपज हुन,’ श्रेष्ठले भने ।

तनहुँबाट जितेर कहिले राष्ट्रपति, कहिले सभापति, कहिले प्रधानमन्त्री बन्छु भनेर पौडेलले जनता झुक्याएको तर सबैतिर असफल भएकाले अब जनताले परिवर्तनका पक्षधरलाई मत दिनुपर्ने श्रेष्ठले बताए ।

देवघाटलाई हिन्दू सर्किटको रुपमा विकास गर्ने प्रतिवद्धता

अब बन्ने वाम गठबन्धनको सरकारले वृद्धवृद्धाका लागि ५ हजार मासिक भत्ता उपलब्ध गराउने नेता श्रेष्ठले आश्वासन दिए ।

नेपालको मात्रै नभएर देवघाट विश्वका हिन्दूहरुको नै आस्थाको धरोहर भएकाले यसलाई हिन्दू सर्किटको एक अंगका रुपमा विकास गर्न लागि पर्ने प्रतिवद्धता पनि उम्मेदवार श्रेष्ठले व्यक्त गरे ।

देवघाट गाउँपालिका पनि एमालेले जितेकाले स्थानीय योजना निर्माणमा गाउँपालिका र प्रदेश सांसद लाग्ने र आफूले केन्द्रबाट बजेट ल्याएर विकास गर्ने उनको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com