दरौंदी किनारमा यस्ता देखिए बाबुरामका चुनौती


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

२१ कात्तिक, गोरखा । नयाँशक्ति पार्टीका नेता डा. बाबुराम भट्टराई सोमबार गोरखाको दरौंदी नजिकै भेटिँदा केही प्रशन्न मुद्रामा देखिन्थे । उनलाई भेट्न अधिकांश कांग्रेसका नेता/कार्यकर्ता पर्खिरहेका थिए । उनको तनाव कम हुनुको कारण त्यही भएको बुझ्न गाह्रो थिएन ।

भोट माग्दै उकाली ओराली डुलिरहेका डा. भट्टराईलाई हामीले स्वास्थ्य स्थितिबारे सोध्यौं । जवाफमा उनले भने- ‘शहर बजारमा भन्दा गाउँघरमा आउँदा स्वस्थ हुन्छु । म हिँडेको देखेर हाम्रा सुरक्षाकर्मीहरु पनि दंग पर्दै भन्छन्, सरसँग हिँड सकिन्न । म पूर्णरुपले स्वस्थ्य छु । खानपिनमा पनि रोटी र साग भयो भने पुगिहाल्छ, यति भएपछि म अहिले दिनको १५ घण्टा, १८ घण्टा खटिरहेको छु ।’

अरुबेला दुर्लभ हाँसो देख्न पाइने उनको अनुहार निकै खुलेको देखिन्थ्यो । अनलाइनखबरसँगको संक्षिप्त कुराकानीमा उनले आत्मविश्वासी देखिँदै भने- ‘चुनाव जित्नेमा निश्चिन्त छु, कसैले शंका नगरे हुन्छ ।’

तथापि, माओवादीबाट बाहिरिएर नयाँशक्ति पार्टी स्थापना गरेका उनको अभियानले गोरखामा ठूलो आकार ग्रहण गरिसकेको छैन । सुरुवाती दिनमा नयाँशक्तिका लागि बाबुरामलाई साथ दिएका धेरै नेता/कार्यकर्ताले उनको साथ छाडिसकेका छन् ।

र, वाम गठबन्धनमा सामेल हुँदा केही नेताले पुनः नयाँशक्तिको पुनर्गठन गर्ने घोषणा गरेर उनको निर्णयलाई चुनौती दिइसकेको अवस्था छ ।

गोरखा-२ को कुरा गर्दा बाबुरामसँग विगतमा जस्तो पार्टीको बलियो संगठन उपलब्ध छैन । उनीसँग गोरखाका बासिन्दाको जबर्जस्त भावनात्मक सहानुभूति मात्रै देखिन्छ । बाबुरामकै लागि तालमेल गर्न कांग्रेस तयार नभएको भए जिल्लावासीको भावनात्मक सहानुभूति मात्र पर्याप्त नहुन सक्थ्यो, चुनावमा शक्ति प्रदर्शनका लागि ।

त्यसको अर्थ हो, बाबुराम गोरखा २ मा चुनौती नै चुनौतीबाट घेरिएका छन्, यतिबेला । र, तिनलाई चिर्न सके मात्रै उनको सहज राजनीतिक अवतरण हुन सक्छ ।

बाबुराममाथि चुनौतीका चाङ 

गत १९ कात्तिकमा जिल्लाका केही द्वन्द्वपीडित र कांग्रेसका पुराना कार्यकर्ताले पत्रकार सम्मेलन गर्दै गोरखा-२ मा प्रत्यक्षतर्फ मतदान नै नगर्ने घोषणा गरे । खासगरी, डा. भट्टराईका लागि उक्त निर्वाचन क्षेत्र छाड्ने पार्टीको निर्णयप्रति असन्तुष्ट रहेछन् ती द्वन्द्वपीडित कांग्रेस कार्यकर्ताहरु ।

बाबुरामलाई सघाउने कांग्रेसको निर्णय पार्टीको सिद्धान्त र विचारविरुद्ध रहेको बताउँदै उनीहरुले समानुपातिकतर्फ मात्रै मतदान गर्ने बताएका छन् । पदसँग गठबन्धन साटिएको र विचारको मूल्यांकन नभएको आरोप लगाउनेमा कांग्रेसबाट जिविस सभापति भइसकेका चन्द्रप्रसाद न्यौपानेसमेत छन् ।

न्यौपाने क्षेत्र नम्बर २ का प्रभावशाली कांग्रेस नेता हुन् । सूर्य चिन्ह लिएर एमालेबाट चुनाव लड्न तयार भएका भट्टराई आँखा चिन्हको साटो रुख चिन्हबाट गोरखा-२ मा उठेका भए आफूहरुका लागि सहज हुने उनीहरुको भनाइ छ । अर्थात्, रुखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न हिच्किचाइरहेका छन्, कांग्रेस कार्यकर्ताहरु ।

यद्यपि, त्यस्तो असन्तुष्टिले खासै ठूलो अर्थ नराख्ने कांग्रेसका गोरखा नगर सभापति चन्दनबाबु खत्री बताउँछन् । ‘गोरखा नगरपालिकाका नवनिर्वाचित मेयर राजनराज पन्त आफैं द्वन्द्वपीडित हुनुहुन्छ, उहाँ डा. भट्टराईसँगै चुनाव प्रचारमा हिँडिरहनु भएको छ,’ खत्री भन्छन्, ‘असन्तुष्टि व्यक्त गर्ने समूह सानो छ र त्यसले मतदातालाई खासै प्रभाव पार्दैन ।’

‘द्वन्द्वकालका कतिपय पीडा बाँकी छन्, त्यसमा मलमपट्टि लगाउँदै जानुपर्छ । द्वन्द्वपीडितका चासोहरु सम्बोधन गर्छु,’ डा. भट्टराईले अनलाइनखबरसँग भने ‘अहिले हामी पूर्ण एकाकार भएर अगाडि बढेका छौं ।’

तर, गोरखा कांग्रेसमा आफ्ना नेतालाई बसाएर डा. भट्टराईलाई समर्थन गरिएकामा असन्तुष्टि गहिरै देखिएको छ । सोमबारको चुनावी सभामा पनि कांग्रेस युवा नेता सुरेन्द्र पाण्डेले त्यही संकेत गरे ।

‘साथीहरुले मलाई किन टिकट छाडिस् भनेर सोध्नुहुन्छ, मैले मेरो व्यक्तिगत र पार्टीका कारणले मात्र डा. भट्टराईका लागि स्थान खाली गरिदिएको होइन,’ सभामा पाण्डेले भने, ‘वाम गठबन्धनमार्फत् देशमा अधिनायकवादको बादल मडारिएकाले त्यसलाई रोक्न उहाँलाई समर्थन गरेको हुँ ।’

पाण्डेका अनुसार डा. भट्टराईलाई छाडेकामा कांग्रेस नेता/कार्यकर्ताले प्रश्न गर्न छाडेका छैनन् । ‘तर, उहाँ लोकतान्त्रिकरण भइसक्नुभएको छ, जिल्ला र देश विकासका लागि डा. भट्टराईको आवश्यकता रहेको बताउँदै सहमत गराइरहेका छौं,’ पाण्डे भन्छन् ।

‘खाटो बसिसकेको पुरानो घाउ कोट्याएर अब काम छैन,’ पाण्डे थप्छन्, ‘बाबुराम भट्टराईले कम्युनिस्ट सिद्धान्त नै छाडेर लोकतन्त्रका पक्षमा आउनुभएकाले उहाँलाई हामीले सहयोग गर्नुपर्छ ।’

गोरखाका कांग्रेसजनले ०६२/६३ को आन्दोलनपछि पनि जिल्लामा लोकतन्त्र नआएको बताउने गरेका थिए । त्यसको कारण थियो, माओवादीको जबर्जस्त प्रभाव । विस्तारै राजनीतिक गतिविधि अगाडि बढाउँदै गइरहेको सन्दर्भमा माओवादी सशस्त्र द्वन्द्वका एक हस्ती डा. भट्टराईलाई मत दिनुपर्ने कुराले यतिबेलाका पीडित कांग्रेस नेता/कार्यकर्ताले असहज अनुभव गरेको बुझ्न सकिन्छ ।

आत्मविश्वासी भट्टराई 

डा. भट्टराई भने आत्मविश्वासी देखिएका छन् । उनी भन्छन्, ‘गोरखाली मतदाताले मलाई ०६४ सालमा ८२ र ०७० मा ६५ प्रतिशत मत दिएर जिताएका थिए, मतदाताको चाहनाअनुसार नै म यसपटक पनि उठेको हुँ, त्यसैले मतदाताले जिताउने कुरामा म ढुक्क छु ।’

अर्थमन्त्री र प्रधानमन्त्री छँदा अगाडि बढाएको विकास निर्माणलाई पूर्णता दिनका लागि पनि आफूले यसपटक जित्नुपर्ने भट्टराईले मतदाता माझ बताउने गरेका छन् ।

डा. भट्टराईले माओवादी आन्दोलनको औचित्य समाप्त भएको तथा विकास र समृद्धितर्फ अगाडि बढ्नुपर्ने बताउने गरेका छन् । सशस्त्र द्वन्द्व र त्यसपछि पनि माओवादीबाट लामो समय त्रसित मानसिकतामा बसेका कांग्रेस नेता/कार्यकर्ताको मन जित्ने प्रयास गरिरहेका छन्, उक्त धारणामार्फत् ।

भन्छन्, ‘निर्वाहमुखी अर्थतन्त्र र भूराजनीतिलाई सन्तुलन मिलाएर अगाडि बढ्न अब माओवादी विचार र नीति-कार्यक्रमले पुग्दैन । म माओवादी हुँ भनेर मुलुकको समृद्धि र विकास अब सम्भव छैन ।’

क्षेत्रीय योजनामा विद्यावारिधि गर्दा उनले बूढीगण्डकी क्षेत्रलाई विषय बनाएका थिए । निर्वाहमुखीबाट नेपाललाई औद्योगिक अर्थतन्त्रमा अगाडि बढाउने योजना पस्किने गरेका छन्, मतदातामाझ । ‘दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिनुपर्छ । त्यसका लागि जे गर्नुपर्छ, त्यही गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उनी भन्छन् ।

उनले ०४५ सालमा गोरखा डेभलपमेन्ट प्लान बनाएका थिए । त्यसका लागि पूर्वाधारमा लगानी बढाउने तथा बूढीगण्डकी, दरौंदी, चेपे, मस्र्याङ्दी किनारमा उत्तर-दक्षिण सडक निर्माणमा तीव्रता उनका चुनावी एजेन्डा छन् । बूढीगण्डकी परियोजनासहित विद्युतका अन्य साना आयोजना अगाडि बढाइने उनले मतदाताहरुलाई बताउने गरेका छन् ।

गोरखा दरबार, पृथ्वीनारायण र द्रव्य शाह तथा प्रथम शहीद लखन थापाका जन्मथलोहरुमा ऐतिहासिक, धार्मिक पर्यटन प्रवर्द्धन बाबुरामका थप एजेन्डा रहेछन् । यस्तै, उत्तरी गोरखा र मनास्लु पदयात्रा मार्गमार्फत् स्वदेशी, विदेशी पर्यटक प्रवर्द्धन पनि उनका चुनावी एजेन्डामा छन् ।

जिल्लाका ठूला टारहरुमा सिँचाइ सुविधा पुर्‍याएर कृषि विकासको ढोका खोल्ने आश्वासन बाँडिरहेका छन् । च्याङ्लिटार र पालुङटारमा विशेष औद्योगिक क्षेत्र स्थापना गरेर विदेशी लगानी भित्र्याउने उनको आश्वासन रहने गरेको छ ।

घरदैलो सुरु भएको १० औं दिनमा सुलीचौर र पालुङटारका केही वडा मात्रै पुग्न बाँकी रहेको बाबुराम बताउँछन् । गोरखा नगरपालिकामा पर्ने क्षेत्र नम्बर २ का वडाहरु, पालुङटार नगरपालिका, सिरानचौर, अजिरकोट र सुलीकोटका अधिकांश वडामा उनले घरदैलो गरिसकेका छन् ।

‘मतदाता दिगो शान्ति, संविधान कार्यान्वयन र जिल्लाको समृद्धि चाहन्छन्,’ त्यस क्रममा भएको अन्तक्रिर्याको निष्कर्ष बताए डा. भट्टराईले ।

नारायणकाजीः बलिया प्रतिस्पर्धी 

माओवादी नेता नारायणकाजी श्रेष्ठ बाबुराम लागि कमजोर प्रतिस्पर्धी होइनन् । बाबुराम गोरखामा पटक-पटक परीक्षण भइसकेका छन् भने नारायणकाजी पहिलो पटक आफ्नो गृहजिल्लामा चुनाव लड्दै छन् । नारायणकाजी माओवादी केन्द्रंमा प्रचण्डपछिको दोस्रो शीर्ष नेता हुन् ।

‘प्रतिस्पर्धी जहिल्यै बलियो हुनुपर्छ । स्कुल पढ्दा डाक्टर उपेन्द्र देवकोटा दोस्रो र म पहिलो । त्यो प्रतिस्पर्धाले क्षमता अभिवृद्धिमा ठूलो भूमिका निर्वाह गरेको थियो,’ डा. भट्टराई भन्छन्, ‘विगतका सहकर्मी नारायणकाजी अहिले प्रतिस्पर्धामा हुनुहुन्छ, उहाँलाई बलियो प्रतिस्पर्धी ठानेको छु ।’

कांग्रेस युवा नेता पाण्डेका अनुसार गोरखा-२ मा लोकतान्त्रिक र वाम गठबन्धनबीच ‘नेक टु नेट’को प्रतिस्पर्धा छ । स्थानीय तहको मत विश्लेषण गर्दा एक सय ३२ मतले मात्रै अगाडि छ, वाम गठबन्धन ।

‘तर, गोरखामा डा. भट्टराई र माओवादी नेता श्रेष्ठबीचको व्यक्तित्वको तुलना हुँदैन,’ पाण्डेको तर्क छ, ‘व्यक्तित्वका कारण डा. भट्टराईले केही हजार मतले श्रेष्ठलाई पछाडि पार्नुहुनेछ ।’

कांग्रेसले गोरखा-२ को प्रतिनिधि सभा र प्रदेशसभा ‘क’ मा नयाँशक्तिलाई तथा नयाँशक्तिले १ को प्रतिनिधिसभा र उक्त क्षेत्रका दुवै प्रदेशसभामा कांग्रेसलाई सहयोग गरेको छ । क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’मा पनि नयाँशक्तिले कांग्रेसलाई सघाएको छ ।

गोरखाका ११ वटा स्थानीय तहमध्ये ९ वटामा कांग्रेसले जित हात पारेको थियो । दुई नगरपालिका र ७ वटा गाउँपालिका कांग्रेसको पोल्टामा परेका छन् । जिल्ला समन्वय समितिमा पनि कांग्रेसले जितेको छ ।

स्थानीय तहमा कांग्रेसले १७ हजार ७०, माओवादीले १७ हजार आठ सय ९४, नयाँशक्तिले सात हजार नौ सय मत र एमालेले सात हजार दुई सय आठ मत पाएका थिए । कांग्रेस र नयाँशक्तिको गरी २४ हजार नौ सय ७० मत छ भने माओवादी र एमालेको २५ हजार एक सय दुई मत हुन आउँछ । स्थानीय चुनावपछि केही मतदाता थपिएका छन् ।

क्षेत्र नम्बर २ मा पर्ने गोरखा नगरपालिकाका ८ देखि १४ वडामध्ये ८, ९ र १२ कांग्रेस, १० र १४ एमाले तथा ११ र १३ माओवादीले जितेका थिए ।

पालुङटार नगरपालिकामा कांग्रेस, सिरानचोक गाउँपालिकामा कांग्रेस, अजिरकोटमा कांग्रेस, सुलीकोटमा माओवादीले जितेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com