भोट माग्ने गगन स्टायलः नमस्कार गर्ने, फिस्स हाँस्ने !


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

२१ कात्तिक, काठमाडौ । गौशालाबाट रातोपुल जाने ओरालोमा मंगलबार बिहानै ‘पोलिटिकल र्‍याप’ घन्कियो । र्‍यापको बोल थियो, ‘भोट फर गगन.. वि लभ गगन…या गगन…ओ गगन !

हातमा चारतारे झण्डा बोकेका कांग्रेस कार्यकर्ता बुरुक-बुरुक उफ्रिँदै नाच्न थाले ।

कार्यकर्ताहरुको बीचमा माला लगाएर दुई पुरुष र दुई महिला उभिएका थिए, जसमध्ये गगन थापा परैबाट चिनिए । अरु तीन जनामा क्षेत्र नम्बर ४ प्रदेश सभा ‘क’ का उम्मेदवार नरोत्तम वैद्य तथा समानुपातिक उम्मेद्वार राधा घले र मञ्जु खाँड थिइन् ।

बाजागाजा र नारावाजीसहित टोली कालोपुल जाने गल्लीमा पस्यो । टोलका कुकुरहरु भ्वाङ भ्वाङ गर्दै भुक्न थाले । तर, कांग्रेस कार्यकर्ताको नारावाजीले कुकुरको भुकाइलाई ओझेल पारिदियो ।

‘हेल्लो, को हुनुहुन्छ ?’ ठूलो कम्पाउन्ड भएको एउटा घरको गेटबाट चियाउँदै कार्यकर्ता कराए । भित्रबाट एक महिला निस्किइन् ।

गगन थापासहित चारैजना उम्मेदवारले श्रद्धापूर्वक नमस्कार गरे ।

महिलाले असजिलो मान्दै भनिन्, ‘के थियो होला कुन्नि ?’

‘हामी भोट माग्न आएको’ एक कार्यकर्ताले भने, ‘पोहोर पनि तपाईंहरुले भोट दिएर जिताउनुभएको हो, यसपालि पनि गगन दाइलाई दिनुपरो ।’

‘खोई सर हुनुहुन्न, म त काम गर्ने मान्छे हो,’ महिलाले भनिन् ।

त्यसपछि गगनले एउटा पर्चा महिलाको हातमा राखिदिँदै भने, ‘सर आउनुभएपछि यो फोटोमा भएको मान्छे आउनुभएको थियो भन्दिनु है ।’

महिलाले मुन्टो हल्लाइन् । टोली अगाडि बढ्यो ।

‘डंगोल जी, ओ डंगोल जी’ अर्को घरको गेटमा एक कार्यकर्ता चिच्याए ।

‘यो घरमा मात्रै १८ भोट छन्,’ कार्यकर्ताहरु फुस्फुसाउँदै थिए ।

डंगोलजी श्रीमतीसहित बाहिर आए । गगनले उनीसँग हात मिलाए । फोटो खिचाए ।

‘हामीलाई त भनिराख्नै पर्दैन,’ डंगोलले ‘पहिले पनि दिएकै हो । उहाँजस्तो जल्दोबल्दो नेतालाई नदिएर कसलाई दिने ?’

टोली गइसकेपछि हामीसँगको कुराकानीमा डंगोलले यसअघि पनि गगन थापालाई भोट दिएको बताए । ‘उहाँ हाम्रो क्षेत्रको मात्र नभएर देशकै नेता हो, त्यसैले यसपालि पनि उहाँलाई नै भोट हाल्छु,’ उनले भने ।

०००

एक हुल महिलाहरु गगनको टोलीलाई स्वागत गर्न बाटैमा उभिएका थिए । उनीहरुले गगनसहित चारै जनालाई माला, खादा लगाइदिए । सगुनका रुपमा दही केरा खान दिए ।

‘देशको भलो गर्नु बाबु, चाँडै प्रधानमन्त्री बन्नु,’ टीका लगाइदिँदै एक महिलाले आशिर्वाद दिइन् । कार्यकर्ताले ताली बजाए । गगन थोरै लजाए ।

‘मतदाताले त प्रधानमन्त्री बन्ने आशिर्वाद दिए । तपाईं कहिले बन्ने प्रधानमन्त्री ?’ हामीले गगनलाई जिस्कायौं ।

‘यो उहाँहरुको सुभेच्छा र माया हो,’ मुस्कुराउँदै गगनले भने, ‘यसले मलाई राजनीतिमा अगाडि बढ्न प्रेरणा दिएको छ । तर, अहिल्यै प्रधानमन्त्री बन्ने सोचेको छैन ।’

०००
टोली कालो गेट भएको एउटा घरमा रोकियो ।

‘कृष्ण दाइ’ भन्दै एक कार्यकर्ता चिच्याए ।

भित्रबाट एक चिरपरिचित व्यक्ति निस्किए । उनी थिए अभिनेता कृष्ण मल्ल ।

मल्लले टोलीलाई भित्र निम्त्याए । कार्यकर्ताहरु घरको कम्पाउन्डमा गीत गाउँदै नाच्न थाले ।

‘हामी बुढो हुन लागिसक्यौं, कृष्णदाइ जहिले पनि जवानको जवान,’ गगनको मुखबाट बोली फुत्क्यो । मल्ल गलल्ल हाँसे ।

‘यति भनेपछि त भोट दिनैपर्‍यो,’ मल्लले ठट्टा गरे ।

हाँस्ने पालो गगनको थियो ।

०००

सिफल क्षेत्रमा वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको आर्ट ग्यालरीमा गगन छिरे । त्यहाँ उनीद्वारा निर्मित मूर्तिहरुको अवलोकन गरे ।

ग्यालरीमा राखिएका विभिन्न शालिकका तस्वीरहरु देखाउँदै मैनालीले गगनलाई ती शालिक भएका स्थानहरुको बारेमा जानकारी गराए ।  ‘लमजुङबाट विद्यार्थीहरुले मलाई सम्पर्क गरिरहेका छन्’, गगनले उनलाई भने, ‘वीपीको मूर्ति चाहिएको रहेछ ।’

‘केको लागि रहेछ ?’, मैनालीले प्रश्न गरे ।

‘त्यहाँ वीपी गार्डेन बनाउने तयारी हुँदैरहेछ । त्यसैका लागि ।’

‘हुन्छ । पठाइदिनुस् न’, उनले जवाफ फर्काए ।

०००

गगनको पछि हिँडेका कार्यकर्ताहरुको भिडमा एक ७८ वर्षीया वृद्धा पनि थिइन् । निकै टाठीबाठी देखिने उनी सोही क्षेत्रकी कांग्रेस कार्यकर्ता रहिछन् । हामीले उनीसँग कुरा गर्न खोज्यौं ।

‘आमै तपाईंको नाम के हो ?’

‘कमला शर्मा राई’

‘घर कहाँ हो ?’

यहीँ, कुमारी टोलमा हो । ९० सालदेखिको घर छ मेरो ।

‘कति वर्षको हुनुभयो ?’

‘९६ सालमा जन्मेकी । आफैं हिसाब गर्नु ।’

किन हिँड्नुभएको यो जुलुसमा ?

कांग्रेसलाई जिताउनुपरेन ? गगन थापालाई जिताउनुपरेन ? हाम्रो छोराजस्तो हो ।

कति सालदेखि कांग्रेसमा हुनुहुन्छ ?

कति साल, कति साल ? अहिलेसम्म कांग्रेसलाई बाहेक अरु कसैलाई भोट हालेकै छैन ।

हामीले थप केही सोध्न नपाउँदै उनी दौडिइन् र गगनलाई च्याप्प समातेर भनिन्, ‘बाबु, उ यो घरमा छिरौं । यो टोलका ठूला मान्छे हुन् ।’

०००

करिब दुई घण्टा अनलाइनखबरकर्मीले पछ्याउँदा गगनले मतदाताहरुसँग विरलै मुख खोलेर भोट मागेको देखियो । उनी मुसुक्क हाँस्थे, नमस्ते गर्थे वा हात मिलाउनेमै सीमत हुन्थे । चिनेका व्यक्तिहरु भेटिँदा मात्रै उनी अलिकति बोल्थे ।
गगनले मतदातालाई कुनै आश्वासन बाँडेको देखिएन । न त मतदाताले नै उनीसँग कुनै माग राख्न भ्याए ।

‘अघिल्लोचोटि भोट माग्दा बाटो खोलिदिन्छु भन्थे,’ स्थानीय सूर्यबहादुर मानन्धरले अनलाइनखबरसँग भने, ‘तर, केही गरेनन् । हेर्नुस, यो बाटोमा एउटा ट्याक्सी पनि छिर्दैन ।’

उनीसँगै रहेका एक युवाले थपे, ‘अगाडि कांग्रेसीका ठूल्ठूला घर छन् । गगन उनीहरुको दबावमा परेका छन् ।’

०००

हामीले केही मतदाताहरुसँग कुराकानी गर्‍यौं । उनीहरुमध्ये अधिकांशले अघिल्लोपटक गगनलाई भोट दिएको बताए । सांसद र मन्त्री भएर गगनले निभाएको भूमिकाप्रति उनीहरुको सकारात्मक प्रतिक्रिया थियो । आफ्नो क्षेत्रमा भने खासै केही नगरेको पनि उनीहरुले बताए ।

‘उहाँ यो क्षेत्रको मात्र नेता नभएर राष्ट्रकै नेता हुनुहुन्छ,’ सुशीलचन्द्र शर्माले भने, ‘मन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्नुभयो । उहाँप्रति हाम्रो गुनासो छैन ।’

‘देशको काममा व्यस्त भएर होला, हाम्रो क्षेत्रमा कुनै काम गर्न भ्याउनुभएको छैन,’ अर्की मतदाता सीता पाठकले भनिन् ।

०००

सिफल टोलमा एक युवकले गगनसँग छोटो कुरा गर्न भ्याए । आफ्नो क्षेत्र ‘टुकीमुनिको अँध्यारो’जस्तो भएको गुनासो उनले गरे ।

‘यहाँको बाटो राम्रो भएन’, उनले भने, ‘यही कारण कतिपय मतदाताहरु भड्किएका छन् ।’

गगनले मुन्टो मात्र हल्लाए ।

ती युवकले गगनलाई उर्जा दिँदै पुनः भने, ‘ठीकै छ, राम्रो गर्दै हुनुहुन्छ, अझै राम्रो गर्नुहोला ।’

टोली अगाडि बढेलगत्तै एकजना महिलाले आलोचनात्मक टिप्पणी गरिन् ।

‘खै.. सबै भोट मात्रै माग्छन्’, उनले भनिन्, ‘काम गर्ने होइनन् ।’

‘मुख्य बाटो बन्द हुँदा सबै हिँड्ने बाटो हो,’ अर्की महिलाले थपिन्, ‘सबै यसलाई फोड्न तयार छन् । यो एरियालाई समेट्दा त भोट पाउने हो नि ।’

अलि पर पुगेपछि एक वयस्कले गगनलाई खोलाको बाटो कालोपत्रे हुनुपर्‍यो भनी माग राखे ।

‘कालोपुलबाट टेन्डर लाग्न बाँकी छ’, गगनले जवाफ दिए, ‘उताबाट काम सुरु भइसक्यो ।’

क्षेत्रमामात्र सीमित हुन्न, देशका लागि काम गर्छुः गगन

गगनको घरदैलो अभियानका क्रममा हामीले उनीसँग छोटो कुराकानी गर्‍यौं । प्रस्तुत छ गगनसँग गरिएको कुराकानीको सम्पादित अंशः-

कस्तो भइरहेको छ, घरदैलो अभियान ?

– समय थोरै भएको हुनाले व्यवस्थापन गर्न गाह्रै छ । अनि, कतिपय ठाउँहरुमा भेटघाट गर्नेसँगै अन्तरक्रिया, छलफल गर्ने पनि इच्छा गर्नुभएको हुन्छ । त्यसको सन्तुलन मिलाउन गाह्रो छ । अरु त ठीक छ ।

सबै मतदाता समक्ष पुग्न भ्याइन्छ ?

– सबैकोमा त पुग्न नभ्याइएला । तर, सकेसम्म धेरै मतदाता माझ पुग्छौं । प्रदेशको पनि उम्मेदवार हुनु भएकाले हामी कतिपय ठाउँमा बाँडिन्छौं पनि ।

मतदाताको मनस्थिति कस्तो पाउनु भएको छ ?

– मैले योभन्दा अघिल्लो पटकको निर्वाचनमा आउँदै गर्दा जुन किसिमको न्यानो सद्भाव पाएको थिएँ, त्यसमा केही पनि फेरबदल भएको पाएको छैन ।

केही ठाउँहरुमा स्थानीय विषयहरु छन् । तर, उहाँहरुले त्यसलाई सुझावका रुपमा, यसमा पनि अतिरिक्त ध्यान दिनुपर्छ भनेर भन्नुभएको छ । कतिपय कुराहरुमा केही अगाडिसम्म कन्फ्यूजन थियो । तर, यो बीचमा विभिन्नखालको छलफल गरिसकेपछि सहज भएको छ ।

यो क्षेत्रका लागि तपाईंका एजेण्डाहरु के हुन् ?

– मचाहिँ केन्द्रको सांसद् हुने हो, यहाँको प्रतिनिधि भएर । त्यसैले यो क्षेत्रमा मात्रै सीमित हुन्न । मेरा ५ वटा कुरा छन् । पहिलो कुरा संविधानको कार्यान्वयन नै हो ।

दोस्रो- शिक्षा र स्वास्थ्य हो । म ५ वर्ष शिक्षा र सार्वजनिक स्वास्थ्यको क्षेत्रमा काम गर्न चाहन्छु ।

मेरो तेस्रो कुरा भनेको चाहिँ मेरो क्षेत्रभरिको मात्र होइन, देशैभरिका युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने कुरा छ । यसमा सांसदहरुको अग्रसरता चाहिएको छ । मेरो पार्टीका मात्र होइन, अरु पार्टीका सांसदहरुसँग पनि मिलेर त्यसको नेतृत्व गर्न चाहन्छु ।

अनि, चौथो कुरा भनेको मेरो क्षेत्रसँग सम्बन्धित छ, त्यो भनेको काठमाडौंलाई बस्न योग्य बनाउने कुरा हो । हामी बाटो, खानेपानी भन्छौं, सबैले यसलाई लोकल इस्यू भन्नुहुन्छ । तर, यो लोकल इस्यू होइन । समग्र काठमाडौंको इस्यू हो ।

काठमाडौंको समस्या स्थानीय लेभलमा रिफ्लेक्ट भएको हो । त्यसैले क्षेत्र मात्रै छुट्टाएर हेरेर हुँदैन । सिंगो काठमाडौं उपत्यकालाई एक ठाउँ ल्याएर हेर्न सक्नुपर्छ । त्यसैले मैले पहिले सांसद हुँदा सुरु गरेको बस्न योग्य काठमाडौं भन्ने अभियानलाई पूर्णता दिन्छु । र, पाँचौं कुरा भनेको चाहिँ मेरो क्षेत्रमा आधारित कुराहरु छन् ।

मेरा धेरैजसो नयाँ कुराहरु छैनन् । अघिल्लो कार्यकालमा मैले सुरु गरेका कुराहरु सबै बीचमा पुगेका छन् । सम्पन्न भएका छैनन् । चाहे स्वास्थ्यको क्षेत्रमा होस्, चाहे शिक्षाको क्षेत्रमा होस् या पूर्वाधारको क्षेत्रमा होस् । सबै कुरालाई मैले सम्पन्न गर्नुछ ।

त्यसैले मैले मतदाताहरुलाई मसँगसँगै प्रदेशका उम्मेदवारहरुलाई पनि सँगै टिम बनाउन सकेँ भने राष्ट्रियस्तरमा मैले भूमिका निभाउन सक्छु । र, क्षेत्रका कुराहरु मैले मेरा प्रदेशसभाका सदस्यमार्फत गराउन सक्छु भनेर प्रदेशका उम्मेदवारहरुलाई पनि जिताइदिन मत माग गरेको छु ।

जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?

– दुईवटा आधार छन् । एउटा, हाम्रो ठाउँ भनेकै परम्परागतरुपमै प्रजातान्त्रिक मान्यता बोक्नेहरुको बाहुल्य भएको ठाउँ हो । त्यसमाथि पनि मलाई प्रतिनिधिका रुपमा ४ वर्ष, ५ वर्ष मेरो काम हेर्दै गर्दा मेरो विचारमा मेरो क्षेत्रका मतदाताले अब आउने संसदमा फेरि म जाओस्, स्वास्थ्य मन्त्री भएर काम गरेजस्तै अरु मन्त्रालयहरु पनि सम्हालोस् भन्ने चाहेका छन् ।

कतिपय मतदाताले त प्रधानमन्त्री बन्ने आशिर्वाद दिएका छन् नि ?

उहाँहरुको यो शुभेच्छाप्रति आभारी छु । यसले मलाई प्रेरणा दिएको छ । तर, प्रधानमन्त्री बन्ने कुरा सोचेको छैन ।

Source : Onlinekhabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com