अमेरिकी इतिहासकै लामो ‘शटडाउन’ : सङ्घीय कर्मचारीहरू तलबविहीन, दैनिक जनजीवन प्रभावित
प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार
अमेरिकी सरकार शटडाउन भएको मंगलबार ३५ दिन पुगेको छ । जसले इतिहासकै सबैभन्दा लामो शटडाउनको रेकर्डसँग बराबरी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा सन् २०१८-१९ मा भएको ३५ दिन लामो सरकारी शटडाउन जस्तै, अहिले पनि रिपब्लिकन र डेमोक्र्याटबीच सहमति जुट्न सकेको छैन ।
सरकार शटडाउन हुँदा करिब ४२ मिलियन अमेरिकन नागरिकको खाद्य सहायता रोकिएको छ । यस्तै, हजारौँ सङ्घीय कर्मचारीहरू (जसमा सैन्य, कानुन कार्यान्वयन, तथा हवाई यातायात नियन्त्रकहरू समावेश छन्) तलबविहीन भएका छन्। यसले अमेरिकाको दैनिक जनजीवनदेखि आर्थिक सूचकहरू समेत प्रभावित भएका छन्।
एयरलाइन्स उद्योगले मात्र ३ दशमलव २ मिलियनभन्दा बढी यात्रुहरू उडान ढिलाइ र रद्दको मारमा परेको जनाएको छ। कंग्रेसनल बजेट अफिसले सरकारी शटडाउन अर्को हप्ता पनि जारी रहे अमेरिकी अर्थतन्त्रलाई करिब ११ अर्ब डलरको क्षति हुने चेतावनी दिएको छ।
सिनेटमा ५३–४७ को सङ्ख्यामा रहेका रिपब्लिकनहरूलाई बजेट पारित गर्न कम्तीमा ७ डेमोक्र्याट सांसदको समर्थन आवश्यक पर्छ। तर, डेमोक्र्याटहरूले स्वास्थ्य बिमा अनुदान विस्तार नगरेसम्म समर्थन नदिने अडान लिएका छन्।
रिपब्लिकन सिनेटर जोन थुनले डेमोक्र्याटहरूको अडानलाई ‘जनताको माथि खेलिएको राजनीति’ भन्दै आलोचना गरे । यस्तै, डेमोक्र्याटिक नेता चक शुमरले राष्ट्रपति ट्रम्पलाई ‘मुद्दा समाधानभन्दा बाहिरका विषयमा ध्यान गएको’ भन्दै दोषारोपण गरे।
ट्रम्पले आफ्ना समर्थकलाई सिनेटमा फिलिबस्टर नीतिलाई खारेज गर्न दबाब दिएका छन्। तर, पार्टीभित्रबाटै यसको विरोध उब्जिएको छ। पछिल्लो सर्वेक्षणअनुसार ५० प्रतिशत अमेरिकीले रिपब्लिकनलाई दोष दिने गरेकोमा ४३ प्रतिशतले भने डेमोक्र्याटलाई जिम्मेवार ठहर्याएका छन् ।
यसैबीच, केही मध्यपन्थी डेमोक्र्याटले तत्काल सरकारी सेवा पुनः सुरु गर्न रिपब्लिकनसँग सहयोग गरेका छन् । उनीहरूले सरकार शटडाउनको तत्कालीन पीडा दीर्घकालीन राजनीतिक खेलभन्दा धेरै भयानक रहेको प्रतिक्रिया दिएका छन् ।









