फिर्ता हुने निर्णयमा पुनर्विचार गर्न अमेरिकासंग विश्व स्वास्थ्य सङ्गठनको आग्रह


प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले अमेरिकी फिर्ताको निर्णय खेदजनक भएको बताएको छ ।

विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति डब्लुएचओ ले खेद प्रकट गरेको हो । यद्यपि, विश्वव्यापी स्वास्थ्य एजेन्सीले अमेरिकाले आफ्नो निर्णयमा पुनर्विचार गर्ने आशा पनि गरेको छ ।

विश्वभरिका लाखौं मानिसहरूको स्वास्थ्य र कल्याणको लागि अमेरिका र एजेन्सी बीचको साझेदारीलाई कायम राख्न रचनात्मक संवादमा संलग्न हुन तत्पर रहेको डब्लुएचओ ले स्पष्ट पारेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार डब्लूएचओबाट अमेरिका बाहिरिने घोषणा गरेपछि डब्लुएचओको यो बयान आएको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभयो,“ विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गर्दछ । डब्लुएचओ विश्वका मानिसहरूको स्वास्थ्य र सुरक्षाको लागि महत्त्वपूर्ण छ ।”

विश्वव्यापी स्वास्थ्य एजेन्सीले अमेरिका सन् १९४८ मा डब्ल्यूएचओको एक संस्थापक सदस्य रहेको उल्लेख गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com