गाजा युद्धविराम सम्झौता इजरायली सरकारद्धारा अनुमोदन, आइतबारदेखि लागू हुने
प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार

इजरायल सरकारले हमाससँग भएको नयाँ गाजाका युद्धविराम र बन्धक मुक्तिसम्बन्धी सम्झौतामा स्वीकृति दिएको छ । अव यो सम्झौता आइतबारदेखि लागू हुनेछ ।
यो निर्णय रातभरिको लामो छलफलपछि गरिएको हो । दुई दक्षिणपन्थी मन्त्रीहरूले यो सम्झौताविरुद्ध मतदान गरेका थिए ।सुरक्षा क्याबिनेटले युद्धका उद्देश्य प्राप्त गर्न सहयोग पुर्याउने भन्दै सम्झौतालाई अनुमोदन गर्न सिफारिस गरेको थियो ।
यो निर्णय प्रधानमन्त्रीको कार्यालय र हमासले सम्झौताका विवरण अन्तिम रूपमा टुंग्याएको दुई दिनपछि कतार, अमेरिका र इजिप्टका मध्यस्थकर्ताले घोषणा गरे ।
हमासले गाजामा राखेका ३३ इजरायली बन्धकहरूको पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूसँग साटासाट गर्नेछ । यो चरण ६ हप्तासम्म चल्नेछ ।
इजरायली फौज गाजाका बस्तीहरूबाट फिर्ता हुने र विस्थापित प्यालेस्टिनीहरूलाई आफ्ना घरमा फर्कन अनुमति दिइनेछ । यसैगरी, दैनिक रूपमा सयौं राहत सामग्री बोकेका गाडीहरू गाजामा प्रवेश गर्न दिइनेछ।
दोस्रो चरणका लागि वार्ता १६ औं दिनबाट सुरु हुनेछ । यसमा बाँकी रहेका बन्धकहरूको रिहाइ, इजरायली फौजको पूर्ण फिर्ता र स्थायी शान्तिको पुनःस्थापना समेटिनेछ ।
तेस्रो र अन्तिम चरण गाजाको पुनर्निर्माणसँग सम्बन्धित हुनेछ । जसमा वर्षौं लाग्न सक्छ, र बाँकी रहेका बन्धकहरूको शव फिर्ता गरिनेछ ।
कतारका अनुसार, पहिलो चरणमा रिहा गरिने बन्धकहरूमा सामान्य महिलाहरू, महिला सैनिकहरू, बालबालिका, वृद्धवृद्धा, र बिरामी तथा घाइते नागरिकहरू हुनेछन्।
इजरायलका अनुसार, युद्धविरामको पहिलो दिनमा तीन बन्धकहरूलाई रिहा गरिने अपेक्षा गरिएको छ । आगामी छ हप्तामा साना समूहहरूलाई नियमित रूपमा फिर्ता गरिनेछ।
७ अक्टोबर २०२३ मा इजरायली भूमिमा भएको आक्रमणको जवाफमा इजरायली सेनाले हमासलाई नष्ट गर्न अभियान सुरु गरेको थियो । यो आक्रमणमा करिब १हजार २०० मानिसको मृत्यु भएको र २५१ जना बन्धक बनाइएका थिए ।
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, त्यसपछि ४६ हजार ८७० भन्दा बढी मानिस मारिएका छन् । इजरायलका अनुसार, हमासले अझै ९४ बन्धकहरूलाई राखेको छ । जसमा ३४ जनालाई मृत घोषित गरिएको छ ।