युक्रेनी युद्धबन्दीहरूको सट्टामा उत्तर कोरियाका २ सैनिकलाई फर्काउन सकिने जेलेन्स्कीको प्रस्ताव


प्रकाशित मिति : पुस २८, २०८१ आईतबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमा रहेका युक्रेनी युद्धबन्दीहरूको सट्टामा उत्तर कोरियाका २ सैनिकहरूलाई उनीहरूको देशमा फर्काउन तयार रहेको बताएका छन् ।

“जो उत्तर कोरियामा फर्कन चाहन्नन्, उनीहरूको लागि अन्य विकल्प उपलब्ध गराउन सकिन्छ,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्दै भने। उनले थपे, “जो कोरियन भाषामा यो युद्धबारे सत्य फैलाएर शान्ति ल्याउन योगदान दिन चाहन्छन्, तिनीहरूलाई त्यो अवसर दिइनेछ । ”

युक्रेनले ती सैनिकहरूलाई ९ जनवरीमा कब्जामा लिएको थियो । रुसले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाली सैनिकहरूको प्रयोग गरिरहेको कुरा अस्वीकार गरेको थियो ।

युक्रेनको सुरक्षा सेवाका अनुसार ती दुई सैनिकहरू अहिले किएभमा छन् र उपचार गराइरहेका छन्। सैनिकहरूले कोरियन भाषा मात्र बोल्ने भएकाले दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर सेवा एनआईएसको सहयोगमा उनीहरूलाई सोधपुछ गरिँदैछ ।

राष्ट्रपति जेलेन्स्कीले शनिबार सामाजिक सञ्जालमा ती सैनिकहरूको तस्बिर सार्वजनिक गरे । तस्बिरमा उनीहरूलाई घाइते अवस्थामा देख्न सकिन्छ ।

त्यसका साथै, उनले एउटा रातो रङको रूसी सैनिक परिचयपत्रको तस्बिर पनि साझा गरे । जसमा जन्मस्थान तुरान, टुभा गणराज्य उल्लेख छ । टुभा गणराज्य मंगोलियाको नजिक पर्छ ।

सुरक्षा सेवाका अनुसार कब्जा गरिएका बेला तीमध्ये एक सैनिकसँग रहेको रूसी परिचयपत्रमा अरू व्यक्तिको नाम र टुभा गणराज्यमा दर्ता भएको विवरण थियो ।

अर्का सैनिकसँग कुनै कागजात नै थिएन । सोधपुछका क्रममा, एक सैनिकले बताएअनुसार, उनलाई २०२४ को शरद ऋतुमा रूसमा परिचयपत्र दिइएको थियो।

ती सैनिकले आफूलाई प्रशिक्षणका लागि रूस पठाइएको बताएका छन् । उनले युद्धमा सहभागी हुन पठाइएको भन्ने कुरा अस्वीकार गरेका छन् ।

सुरक्षा सेवाका अनुसार, परिचयपत्र बोकेको सैनिक २००५ मा जन्मिएका हुन् । २०२१ देखि उत्तर कोरियामा राइफलम्यानको रूपमा सेवा गरिरहेका थिए ।

अर्का सैनिक घाइते भएकाले उनले केही जवाफहरू लेखेर दिएका थिए । उनी १९९९ मा जन्मिएका हुन् । २०१६ देखि उत्तर कोरियामा स्काउट स्नाइपरको रूपमा सेवा गरिरहेका थिए ।

उत्तर कोरियाली सैनिक र रूसी युद्ध

गएको वर्षको अन्त्यतिर युक्रेन र दक्षिण कोरियाले जानकारी दिएका थिए कि उत्तर कोरियाले कम्तीमा १० हजार सैनिक रूस पठाएको छ।

अमेरिकाले उत्तर कोरियाली सैनिकहरूमा व्यापक क्षति भएको जनाएको थियो।

डिसेम्बरमा, दक्षिण कोरियाको गुप्तचर सेवाले रुसको युद्धमा सहभागी हुँदा कब्जामा लिइएका उत्तर कोरियाली सैनिकमध्ये पहिलो सैनिकको मृत्यु भएको रिपोर्ट गरेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com