अष्ट्रेलियाद्वारा १६ करोड सहयोगको घोषणा


प्रकाशित मिति : भाद्र २१, २०७४ बुधबार

– नारायण खड्का

भाद्र २१, २०७४-अष्ट्रेलिया सरकारले नेपालमा हालै गएको बाढीपहिरो पीडितहरुको सहयोगार्थ २ मिलियन अष्ट्रेलियन डलर (करिब १६ करोड रुपैयाँ) सहयोग दिने घोषणा गरेको छ ।

अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशपले एक बिज्ञप्ति जारी गर्दै उक्त सहयोग दिने बताएकी हुन् । उनले केही दिनअघि जारी गरेको विज्ञप्तिमा १७ लाख जनताहरु हालै आएको बाढीपहिरोका कारण पीडित बनेको बताउँदै नेपाललाई उक्त रकम उपलब्द्ध गराउने उल्लेख गरिएको छ । उनका अनुसार १ मिलियन (करिब ८ करोड रुपैयाँ) अष्ट्रेलियाको गैरसरकारी मानवीय संस्थाहरु मार्फत र थप १ मिलियन (करिब ८ करोड रुपैयाँ) विश्व खाद्य कार्यक्रम अन्तर्गत प्रदान गरिनेछ ।

अष्ट्रेलियाले उपलब्द्ध गराउने सहयोगबाट तत्काल पीडितहरुका लागि आवास, खाद्यान्न, सफा पानी र स्वास्थ्यका क्षेत्रमा खर्च गरिने जनाइएको छ । यसका साथै अष्ट्रेलियाली सरकारले ६ हजार ६ सय महिला तथा युवतीहरुलाई जरुरी स्वास्थ्य सेवा र स्वास्थ्य सामाग्रीहरु उपलब्द्ध गराइने समेत भएको छ । अष्ट्रेलियाले विश्व खाद्य कार्यक्रम अन्तरगत पुरयाउने सहयोगले अति प्रभावित क्षेत्रका ५ बर्षमुनिका ५ हजार ६ सय बालिबालिका र १ हजार ६ सय गर्भवती तथा महिलाहरुलाई सहयोग पुरयाउने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा १ सय ५० को मृत्यु भएको, ६५ हजार घरहरु नष्ट भएको र ६४ हजार हेक्टर क्षेत्रफलको बाली नष्ट भएका उल्लेख गरिएको छ भने उद्धारमा देखाएको तदारुकताप्रति नेपाल सरकारको प्रशंसा समेत गरिएको छ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com