प्रथम झापा मिडिया कपको उपाधि सूर्योदयलाई
प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार

झापा : झापामा सम्पन्न प्रथम प्रिमियर इन्सुरेन्स झापा मिडिया कप-२०७४ को उपाधि बिर्तामोडको सूर्योदय टेलिभिजनले हात पारेको छ।अर्जुनधारास्थित नमुना सामुदायिक खेल मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा अर्जुनधाराको यलम्बर टाइम्स-मेरो रेडियोलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै सूर्योदयले उपाधि हात पार्यो।
फाइनल खेलमा सूर्योदयका लागि अनिश लिम्बूले २ गोल गरे भने १ गोल आत्मघातीस्वरुप उपहार पाएको हो। प्रतियोगिताभरकै उत्कृष्ट खेलाडी सूर्योदयका अनिश लिम्बू घोषित भए। उनलाई मोबाइल दोकानका तर्फबाट एन्ड्रोइड मोबाइलसहित आयोजकले नगद प्रदान गरेको थियो।
त्यस्तै, सूर्योदयकै सन्देश तामाङ उत्कृष्ट गोलरक्षक, सूर्योदयकै किशोर कन्दङवा उत्कृष्ट मिडफिल्डर, यलम्बर टाइम्स-मेरो रेडियोका रमेश थापा उत्कृष्ट रक्षक र सोही टिमबाट दीपेन्द्र दनुवार उत्कृष्ट फरवार्ड घोषित हुँदै ट्रफीसहित नगद पुरस्कारबाट पुरस्कृत भए। जितसँगै सूर्योदयले नगद २१ हजार पायो भने उपविजेता यलम्बर टाइम्स-मेरो रेडियोले ११ हजारमा चित्त बुझाएको छ।
विवेचना दैनिकले २५औं वर्ष पार गरेको अवसरमा आयोजित मिडिया कपको सोमबार बिहान भएको सेमिफाइनल खेलमा आमसञ्चार डटकमलाई ३-१ गोलले पराजित गर्दै सूर्योदय फाइनलमा प्रवेश गरेको हो भने रेडियो सनराइजलाई ३-० गोलको अन्तरमा पराजित गर्दै यलम्बर–मेरो रेडियोले अन्तिम ४ मा स्थान सुरक्षित गरेको थियो।