गुआम आक्रमणबारे छलफल


प्रकाशित मिति : श्रावण ३२, २०७४ बुधबार

श्रावण ३२, २०७४- उत्तर कोरियाली नेता किम जोङ उनले प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी भू–भाग गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने योजनाबारे सेनासँग विस्तृत जानकारी लिएका छन् ।

उत्तर कोरियाली सेनाको विज्ञप्तिलाई उद्धृत गर्दै समाचार संस्था केसीएनएले उत्तर कोरियाली सेना आक्रमणका लागि तयारी अवस्थामा रहेको जनाएको छ । तर उसले अमेरिकाको प्रतिक्रिया पछि मात्रै किमले आक्रमणको आदेश दिने बताएको छ । कोरियाली सेनाको विज्ञप्तिमा भनिएको छ, ‘मूर्ख र बेबकुफ अमेरिकीहरूको व्यवहार केही समय हेरौं ।’ प्योङयाङले मध्य अगस्टसम्ममा गुआम आक्रमण गर्ने योजना तयार हुने जनाएको थियो । उसले किमको स्वीकृतिपछि गुआममा आक्रमण गर्ने जनाएको थियो । केसीएनएका अनुसार किमले उच्च सैनिक अधिकारीसँग आक्रमणको मितिबारे पनि छलफल गरेको जनाएको छ ।

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाको कुनै आक्रमणले पूर्णरूपको युद्ध सुरु हुने चेतावनी दिएका थिए । म्याटिसले उत्तर कोरियाले आक्रमण गरेसँगै युद्धको खेल सुरु हुने बताए । उनले अमेरिकी सेना कुनै पनि आक्रमणबाट देशलाई बचाउन सक्षम रहेको दाबी गरे । यसअघि म्याटिसले दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउन प्रयास गरेका थिए । उत्तर कोरियाविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा टिप्पणी गरेका थिए । उनले अमेरिकी सेना पनि आक्रमणको प्रत्युत्तर दिन तयारी अवस्थामा रहेको बताएका थिए । उनले अमेरिकामाथिको आक्रमणको जवाफमा विश्वकै ‘सबैभन्दा भीषण आक्रमण’ को सामना गर्न तयार रहन चेतावनी दिएका थिए । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले भने अवस्था सामान्य बनाउने प्रयास गरिरहेको जनाएका छन् । उनले कोरियाली प्रायद्वीपले अर्को युद्ध धान्न नसक्ने बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com