चुडामणी शर्मालाई साधारण तारेखमा थुनामुक्त गर्न सर्वोच्चको आदेश


प्रकाशित मिति : श्रावण २७, २०७४ शुक्रबार

– कृष्ण ज्ञवाली

श्रावण २७, २०७४- सर्वोच्च अदालतले राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएकोछ । सर्वोच्चको पूर्ण इजलाशले केहीबेर अघि यस्तो आदेश दिएको हो ।

आफ्नो पतिलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै चुडामणिकी पत्नी कल्पना उप्रेती शर्माले गत असार २७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । उनले निवेदनमा तीनवटा विषयवस्तु उठाएकी थिइन् ।

एक, आफ्ना पतिलाई गैरकानूनी रुपमा थुनामा राखेकाले उनको नि:शर्त रिहाईको लागि बन्दी प्रत्यक्षीकरणको आदेश जारी होस् ।

दोस्रो, कर फर्स्यौट आयोगले गरेको कामकारबाहीमाथि अख्तियारको क्षेत्राधिकार आकर्षित हुँदैन । अर्कोतर्फ रिट निवेदनमा चुणमणिमाथि अख्तियारले माग/दाबी गरेको विगो निकै बढी र अमानवीय प्रकृतिको रहेको दाबी थियो ।

गत साउन ४ गते सर्वोच्च अदालतको संयुक्त इजलासले चुडामणिको मुद्दामा केही गम्भीर कानुनी प्रश्न जोडिएको भन्दै मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । साथै संयुक्त इजलासले कर फर्स्यौट आयोग अर्धन्यायिक या प्रशासनिक निकाय हो भन्नेबारेमा निर्क्यौल हुनुपर्ने समेत ठम्यायो । त्यसक्रममै सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको विवाद टुंगो नलाग्दासम्म विशेष अदालतमा दायर शर्माविरुद्धको भ्रष्टाचार मुद्दा यथास्थितिमा राख्न समेत आदेश दियो ।

सर्वोच्च अदालतले गत १७ गते चुडामणिलाई न्यायिक हिरासतमा राख्न आदेश दियो । त्यसदिनदेखि चुडामणि अख्तियार परिसरको थुनुवा घरबाट टेकुस्थित प्रहरी परिसरको थुनुवाकक्षमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com