‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’


प्रकाशित मिति : माघ २२, २०७९ आईतबार

तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै । खानेकुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ । “घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ”, उहाँले भन्नुभयो, “धुलोले नानीबाबुहरूका आँखा रसाउँछनु, छाती दुख्ने समस्या हुन्छ ।”

घोराही–तुलसीपुर चारलेन सडक निर्माण जारी रहँदा सो क्षेत्रमा धुलोले समस्या बनाएको छ । सोही ठाउँकै मुना पोख्रेललाई पनि त्यस्तै समस्याले सताउने गरेको छ । काम गर्ने क्रममा नाक, मुखमा धुलो पस्ने, घर वरिपरि धुलैधुलो हुने, बिहान सफा गरेको छत साँझमा धुलैधुलोले भरिने समस्या छ । शरीरमा धुलौधुलो, मुखमा हातले छुदा माटो नै निस्किने, माझेर राखेको भाँडामा पनि माटैमाटो हुने गरेको उहाँको दुःखेसो छ । “बिहान बढा¥यो साँझ धुलो, मुखमा हातले छोयो माटो नै निस्किन्छ”, उहाँले भन्नुभयो, “पाँच वर्ष भयो, यसरी सास्ती खेप्न थालेको ।”

सडकमा आवतजावत गर्दा यात्रुहरूलाई पनि त्यत्तिकै समस्या हुने गर्छ । पैदलयात्रु होस् वा सवारीमा यात्रु गर्दा पनि निकै सास्ती खेप्नुपरेको छ । “धुलैधुलो हुँदा अगाडिको गाडी पनि देखिँदैन । श्वासप्रश्वासको समस्या हुन्छ, नै अगाडिको गाडी नदेखिँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ”, चालक ध्रुव रावतले भन्नुभयो, “सवारी चलाउन पनि समस्या हुन्छ ।”

यसरी धुलोले स्वास्थ्यमा निकै असर गर्ने चिकित्सकहरूले बताउने गर्छन् । धुलोले गर्दा घाँटी, फोक्सोमा समस्या निम्त्याउने, नियमित खोकी लाग्ने, औषधि खाँदा पनि सञ्चो नहुने अवस्था आउने डा अशोककुमार पण्डितले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामो समयदेखि अलपत्र चार लेन : 

घोराही–तुलसीपुर चारलेनको काम विसं २०७५ माघदेखि सुरु भएको हो । तीस महिनामा काम सक्ने गरी सम्झौता भयो । तर अहिलेसम्म पनि त्यो काम पूरा नहुँदा यात्रुलाई मात्रै नभई वरपरका बासिन्दालाई पनि समस्या हुने गरेको छ । उक्त सडकमा अहिलेसम्म सात जना पेटी ठेकेदार फेरिएका छन् । चौथोपटक म्याद थप भइरसकेको छ ।

विसं २०७८ जेठ ६ गतेभित्र काम सक्नुपर्ने भए पनि त्यसो हुन सकेन । काम सक्ने त टाढाको कुरा छ प्रतिशतभन्दा बढी प्रगति हुन सकेन । त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलोपटक, २०७८ पुस २८ गते सक्ने गरी दोस्रोपटक म्याद थप भयो । तर काम अघि बढ्न नसकेपछि तेस्रोपटक २०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन । अहिल खरिद ऐनको १२औँ संशोधनले चौथोपटकका लागि २०८० असारसम्म स्वतः म्याद थप गरेको छ ।

सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रूपमा जिम्मा पाए । त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए । उनीहरुबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजङ्ग रायमाझी आएका हुन् । पटक–पटक म्याद थप हुने तर, काम नसिकँदा नागरिक स्तरबाट पनि विरोध हुने गरेको छ । केही दिनअघि मात्रै सामाजिक अभियन्ताहरूको पहलमा चार लेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो ।

चारलेन सडक भ्याटसहित रु एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकी डलर (नेपालीमा रु एक अर्ब २३ करोड)मा निर्माण हुन लागेको हो । भारतीय तथ्य इञ्जीनियरिङले ठेक्का लिएको हो । तर, उसले बिभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने तर, समयमा काम नगर्ने अवस्था हुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको छ ।

पछिल्लो समय पुस १८ देखि बुटवलका सुनिलजङ्ग राइमाझीले पेटी ठेक्का पाएका छन् । तर, उनले पनि काम अगाडि बढाउन सकेका छैनन् । तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब रु तीन लाख २१ हजार नौ सय जरिवाना गर्ने गरेको छ । कुल रकमको १० प्रतिशतसम्म जरिवाना हुने व्यबस्थाअनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो । यसको मुख्य ठेकेदार भारतीय तथ्य इञ्जीनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com