नेपालका १६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक


प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार

नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ । सत्तरीऔँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा आज ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा नेपालका १६ जिल्ला झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेको जानकारी दिइयो ।

अन्तरक्रियामा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयावहको स्थिति सिर्जना नहुने बताउनुभयो । “कुष्ठरोग नियन्त्रणका लागि जनचेतना जगाउनु आवश्यक छ, यहाँ विद्यार्थी भाइबहिनी पनि हुनुहुन्छ । हामीले यो रोगलाई निमिट्यान्न पार्न सक्छौँ”, उहाँले भन्नुभयो, “यस अस्पतालले कोरोना महामारीका बेला उक्त सङ्क्रमणका बिरामीलाई उपचारमा सहयोग गरी नगरपालिकाको समस्या समाधानमा विशेष सहयोग गरेको छ ।”

नगरपालिकाका उपप्रमुख मुना अधिकारीले विद्यार्थीलाई पनि कुष्ठरोग र सोको उपचार बारे जानकारी गराउन जरुरी रहेको बताउँदै समाजमा जनचेतना फैलाउने माध्यम विद्यार्थी रहेको सुझाव दिनुभयो ।

मिसनका नेपाल निर्देशक शोभाकर कँडेलले वर्षमा दुई हजारदेखि तीन हजार कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेकोतथ्य राख्दै रोगमुक्त नेपालका लागि सबै क्षेत्रका व्यक्ति तथा व्यक्तित्व मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “कुष्ठरोग रोगमुक्त नेपालका लागि सबै क्षेत्रका व्यक्ति तथा व्यक्तित्व मिलेरअघि बढ्नुपर्छ । कुष्ठरोग मुक्त नेपाल घोषणा गर्ने हाम्रो ठूलो इच्छा छ”, निर्देशक कँडेलले भन्नुभयो, “आजभन्दा ६६ वर्षअघि यहाँ अस्पलात स्थापना गर्न दिएर गोदावरी नगरपालिका वडा नं ५ र ६ का बासिन्दाले ठूलो गुण लगाउनुभएको छ । जति बेला मिशनका गाडी देख्दा पनि स्थानीयवासी छुन डराउँथे ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्य विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख विशेषज्ञ डा प्रशन्न नापितले विगतका आवमा मात्रै ११ जिल्लामा यो रोगका बिरामी रहेका भनाई राख्दै चालु आवमा १६ जिल्लामा यस रोगका बिरामी भेटिएका बताउनुभयो । “विशेषगरी तराईका जिल्लामा यस रोगका बिरामी देखिएका छन् । बाक्लो बस्ती भएको र भारतसँग खुला सीमा भएको क्षेत्रमा बढी मात्रामा यस रोगका बिरामी भेटिएका छन्”, उहाँले भन्नुभयो, “कुष्ठरोगीका लागि नेपालमा जस्तो राम्रो व्यवहार भारतमा छैन, त्यहाँका नागरिकमा रोग लुकाउने अवस्थाका कारण पनि सीमासँग जोडिएका जिल्लाका मानिसमा सरेको हुन सक्छ ।”

ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले मुलुकमा लगभग तीन वर्षअघि भित्रिएको कोरोना महामारीपछि ललितपुर जिल्लामा पनि सो रोगका बिरामी बढेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “यस रोग अन्त्यका लागि ललितपुरमा रहेका महिला स्वास्थ्य स्वयंसेविका साथै जनप्रतिनिधि मिलेर निर्मूल गराउन लाग्नुपर्ने देखिन्छ ।”

अस्पतालका मेडिकल डाइरेक्टर डा महेश शाहले आफूहरूले यस अस्पतालबाट कुष्ठरोगका साथै ट्रमा र जनरल उपचार सेवा पनि दिने गरेकोे बताउनुभयो । उहाँले भन्नुभयो, “यस अस्पताल दक्षिण ललितपुरका तीन गाउँपालिकावासीको उपचार गर्ने केन्द्रविन्दु रहेकाले हामीले छाला तथा हाडजोर्नी र दन्त चिकित्सा आदि विभिन्न उपचार गर्ने गरेका छाँै ।”

आनन्दवन अस्पताल सन् १९५७ मा दि लेप्रोसी मिसन अन्तर्राष्ट्रियको आर्थिक सहयोगमा स्थापित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाकारूपमा सञ्चालन हुँदै आएको छ । यस अस्पताल सन् २००५ देखि दि लेप्रोसी मिसन नेपाल भन्ने गैरसरकारी संस्थाद्वारा सञ्चालित कुष्ठरोगको विषेशज्ञ अस्पताल हो । यस संस्थामा कुष्ठरोगका लागि ८० शय्या निःशुल्क र ३० शय्या हाडजोर्नी तथा अन्य रोगको लागि सःशुल्क गरी जम्मा एक सय १० शय्यारहेको अस्पतालका प्रसाशक शेरबहादुर गुरुङले जानकारी दिनुभयो ।

अस्पतालमा कुष्ठरोगको विशेषज्ञ सेवाका साथै हाडजोर्नी, छाला तथा यौनरोग, बालरोग र अन्य सामान्य चिकित्सा सेवाको साथै विशेष फिजियोथेरापी, सर्वसुलभ प्याथोलोजी सेवा, एक्सरे र आवश्यकताअनुसार नक्कली खुट्टाका साथै विशेष जुत्तासमेत उपलब्ध रहेको आनन्दवन अस्पतालका तालिम केन्द्र प्रमुख राजकुमार पौडेलले जानकारी गराउनुभयो ।

विसं २०१३ मा तत्कालीन राजा महेन्द्र भारत भ्रमणमा जाँदा आनन्दवन भन्ने स्थानमा कुष्ठरोगका बिरामी उपचार गर्ने संस्था देखेपछि नेपालमा पनि यस्तोखालको अस्पताल चाहिन्छ भनेर विसं २०१५ मा लेलेको आनन्दवन अस्पताल स्थापना गराएको अन्तरक्रियामा जनाइएको थियो । हाल यस अस्पतालमा मुलुकभरका कुष्ठरोगका बिरामी उपचार गर्न आउने गरेको अस्पतालले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com