लामिछाने उपप्रधान तथा गृहमन्त्री पनि नहरने, पार्टी सभापति पनि स्वत: खारेज


प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार

सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै उनको सांसद पद खारेज गरिदिएपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि खारेज भएको छ । नेपालको मन्त्री हुनका लागि नेपाली नागरिक हुनुपर्ने भएकाले उनको मन्त्रीपद पनि स्वत खारेज भएको हो ।

कुनै पनि दलको सदस्य हुन नेपाली नागरिक हुनुपर्ने प्रावधान अनुशार उनको पार्टी सभापति पदपनि खारेज भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिक हुन अयोग्य व्यक्ति पार्टी सभापति नहुने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद रिक्त भएको बताएका छन् ।

लामिछाने ३२ दिन अघि पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका थिए । अब लामिछानेले नेपालको नागरिकता लिन चाहे पुन प्राप्तिको प्रक्रियामा जानु पर्ने हुन्छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनीविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेका हुन् ।

सर्वोच्च अदालत परिसर बाहिर जम्मा भएका सञ्चारकर्मी र सुरक्षाकर्मीहरु । तस्बिर: चन्द्रकला क्षेत्री/रासस

 

२०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वंशजको नागरिकता निकालेका लामिछाने रोजगारीको सिलसिलामा अमेरिका पुगेका थिए । त्यसपछि २०७० फागुन ९ मा अमेरिकी नागरिकता र फागुन २१ मा राहदानी प्राप्त गरेका थिए । उनले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाल नागरिकता ऐनअनुसार उनको नेपाली नागरिकता कायम रहेको थिएन ।

नागरिकता ऐन (दफा १०.१) ले कुनै व्यक्तिले विदेशको नागरिकता प्राप्त गरेपछि उसको नेपाली नागरिकता कायम नरहने व्यवस्था गरेको छ । त्यस्तै सोही ऐन (दफा १०.२) मा नेपाली नागरिकता त्याग गर्ने सूचना दिनुपर्ने र त्यसरी त्याग सूचना दर्ता भएको मितिदेखि सम्बन्धित व्यक्तिको नेपाली नागरिकता कायम नरहने व्यवस्था छ ।

साथै ऐनको दफा ११ मा ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने’ व्यवस्था छ ।

लामिछानेका कानुन व्यवसायीले २०७५ असार ६ अध्यागमन विभागमा लामिछानेले आफूले अमेरिकी नागरिकता त्यागेको भन्दै दिएको जानकारीलाई नै ‘पुनः नेपाली नागरिकता प्राप्त गर्नका लागि विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएको’ अर्थ्याएका थिए ।

फैसलामा भनिएको छ, “लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भइ कायम रहन मिल्ने देखिएन । निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भइ निर्वाचित समेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिनेलगायतका काम कारबाही नेपालको संविधानको धारा १३३ को उपधारा (२), (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com