म निलम्बनमा परेको छैन, जहाज उडाउँदैछु : क्याप्टेन विश्वकर्मा


प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार

नेपाल वायुसेवा निगमका विमान चालक क्याप्टेन नरबहादुर विश्वकर्माले आफू निलम्बनमा नपरेको बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको भनिए पनि पाइलट विश्वकर्माले आफू निलम्बनमा नपरेको स्पष्ट गर्नुभएको हो ।

नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको निर्देशन नमान्ने पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको थियो तर आफू उक्त उडानमा संलग्न नभएकाले निलम्बन नपरेको क्याप्टेन विश्वकर्माले बताउनुभयो । उहाँले रासससँग भन्नुभयो, “म हङकङ विमानस्थलमा यात्रुजस्तै भएर पछाडि बसेको थिएँ, त्यसमा मेरो कुनै संलग्नता छैन, यस्तो सूचना कसले दियो दियोे म अचम्ममा परेको छु, आज पनि मैले जहाज उडाउँदै छु ।”

उहाँले आफू आज राति सिङ्गापुर उडानमा जान लागेकोसमेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म विशेषज्ञ पाइलट हो, मैले कुनै गल्ती नै गरेको छैन भने किन निलम्बनमा पर्नु ? मत आज सिङ्गापुर फ्लाइटमा जाँदैछु ।”

उता नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता गणेश घिमिरेले नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमान्ने पाइलट उद्धव घिमिरे र राजेश कुशवाह तथा काठमाडौँबाट जापान उड्ने क्रममा ‘स्टान्डर अप्रेसनल प्रोस्युड्युल’ पालना नगरेको भन्दै प्रशन्न राना र वाइपी जुवारचनलाई निलम्बन गर्न प्राधिकरणले दिएको निर्देशनअनुसार निलम्बन गरिएको बताउनुभयो ।

उहाँले पनि पाइलट नरबहादुर विश्वकर्मा उक्त फ्लाइटमा भए पनि निलम्बनमा भने नगरिएको जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com