भारतमा दुई नेपाली युवाको अपहरणपछि हत्या


प्रकाशित मिति : माघ ८, २०७९ आईतबार

धनुषा, जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।

दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हुन । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक नातेदारको घर गएका थिए । गत सोमबार विष्णुका परिवारलाई भारतीय नम्बरबाट अपहरणकारीले रु ५० लाख रकम माग गरेका थिए । विष्णुको परिवार अपहरणकारीलाई रु २० लाख दिन सहमत भएको उनको परिवारका एक सदस्यले बताए ।

अपहरणकारीले रु २० लाख लिएर सर्लाहीको मलङ्गवा नजिक नेपाल–भारत सीमा क्षेत्रमा बोलाएका थिए । यसबारे विष्णुको परिवारले प्रहरीलाई जानकारी गराएको थियो । “हामीले यसबारे भारतीय प्रहरीलाई खबर ग¥यौँ”, धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले भन्नुभयो– “भारतीय प्रहरीले दुई शव भेटेपछि आज हामीलाई खबर गरेको हो ।”

भारत बिहारको सीतामढीमा खाडलमा गाडिएको अवस्थामा दुवै जनाको शव फेला परेको डिएसपी क्षेत्रीले बताउनुभयो । हत्यामा संलग्न भएको आशङ्कामा भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीले पनि अन्य दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको डिएसपी क्षेत्रीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com