अमेरिकाले नेपाललाई ‘वैदेशिक सैन्य’ शीर्षकमा दिने रकम मानवीय सहायतामा मात्र लगाउने
प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार
अमेरिकाले नेपाललाई वैदेशिक सैन्य सहायता अन्तरगत दिने रकम मानवीय र प्रकोप राहतमा मात्र लगाउने भएको छ । आज सिनेटबाट पारित बिलमा नेपाललाई अमेरिकाले गर्ने सहायताबारेको विषय समेत समेटिएको हो ।
विधयेकमा भनिएको छ – ‘वैदेशिक सैन्य वित्तिय कार्यक्रम अन्तरगत विनियोजन गरिएको रकम नेपालका लागि मानवीय सहायता र विपद् राहत, पुनर्निर्माण गतिविधिहरू, अन्तर्राष्ट्रिय सहयोगमा शान्ति स्थापना, सैन्य व्यावसायिकता र तालिम, सीमा सुरक्षा गतिविधिहरूका लागिमात्र उपलब्ध गराइनेछ ।’
यदि नेपाल सरकारले नेपाली सेनाबाट भएका मानवअधिकार उल्लंघन र युद्धको नियम उल्लंघनका घटनाहरुको अनुसन्धान र कारवाही गरिरहेको तथा त्यसका लागि नेपाली सेनाले न्यायिक निकायसँग समन्वय तथा सहयोग गरेको रिपोर्ट अमेरिकी विदेशमन्त्रीले प्रमाणित गरेको खण्डमा भने वैदेशिक सैन्य वित्तिय कार्यक्रम अन्तरगत विनियोजन गरिएको रकम अन्य क्षेत्रमा समेत प्रयोग गर्न सकिने प्रष्ट पारिएको छ ।
आर्थिक बर्ष २०२१ को बजेटमा नेपालको सहयोगका लागि कम्तीमा १३ करोड २ लाख ६५ हजार डलर छुट्याइएको थियो । नेपालको विकाश र प्रजातन्त्रको कार्यक्रमका लागि उक्त रकम छुट्याइए पनि गतबर्षदेखि भने नेपाललाई उक्त प्रकारको सहायता रकम छुट्याइएको छैन ।
त्यस्तै आर्थिक सहायता फण्डमार्फत कम्तीमा अर्को ८० लाख अमेरिकी डलर नेपाल र भारतमा रहेका तिब्बतीहरुको संस्कृति र भाषाको संरक्षणका लागि प्रदान गरिने भएको छ ।