विश्व कप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा, फाइनल खेल न्युजर्सीको मेटलाइफमा


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

विश्व कप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ । २०२६ मा पहिलो पटक तीन फरक देशहरूले प्रतियोगिता साझारुपमा गर्दैछन् ।

अमेरिकाले शियाटल, सान फ्रान्सिस्को, लस एन्जलस, कन्सास सिटी, डलास, एटलान्टा, ह्युस्टन, बोस्टन, फिलाडेल्फिया, मायामी र न्युयोर्क / न्यु जर्सीमा खेलहरू आयोजना गर्नेछ। मेक्सिकोले मेक्सिको सिटी, ग्वाडालाजारा र मोन्टेरीमा खेल आयोजना गर्नेछ । क्यानडाले भ्यानकुभर र टोरन्टोमा खेलहरू आयोजना गर्नेछ।

फिफाले प्रतियोगिताको ठ्याक्कै मिति घोषणा गरेको छैन । आयोजकहरूले कतारमा तातो मौसमका कारण २०२२ को संस्करण नोभेम्बर र डिसेम्बरमा आयोजना गरेपनि २०२६ को विश्वकप भने जुन र जुलाईमा आफ्नो नियमित स्लटमा फर्किनेछ ।

कतारमा यस वर्षको प्रतियोगितामा ३२ टिमले प्रतिस्पर्धा गरेपनि २०२६ भने ४८ टिमले प्रतिस्पर्धा गर्नेछन् । असी खेलहरू हुने उक्त प्रतियोगिता ३४ दिन लामो हुनेछ। मेक्सिकोले यसअघि सन् १९७० र १९८६ मा दुई पटक विश्वकप आयोजना गरिसकेको छ भने २०२६ मा तेश्रो पटक प्रतियोगिता आयोजना गर्ने पहिलो देश बन्नेछ ।

फाइनल खेल भने झन्डै ८५ हजार दर्शक अट्ने न्युजर्सीको मेटलाइफ रङ्गशालामा  हुनेछ।

अमेरिकाले सन् १९९४ मा एक पटक प्रतियोगिता आयोजना गरेको थियो। क्यानडाले कहिल्यै पुरुष विश्वकप आयोजना गरेको छैन, तर २०१५ मा महिला संस्करणको आयोजना गरेको थियो।

२०२६ को विश्वकप आयोजना गर्ने अर्को उम्मेद्वार मोरक्को पनि थियो। तर २०१८ मा फिफाको कंग्रेसले अमेरिका, क्यानडा र मेक्सिकोको पक्षमा १३४ र मोरक्कोको पक्षमा ६५ भोट आएपछि अमेरिका, क्यानडा र मेक्सिकालाई छनौट गरेको हो ।

आयोजक बन्ने प्रतिस्पर्धामा रहेकाले क्यानडा, मेक्सिको, मोरक्को र अमेरिकाले मतदान गर्न पाएनन् भने भ्रष्टाचारको आरोप लागेपछि देशको फुटबल सङ्घ विघटनमा परेकाले घाना अनुपस्थित भयो। मतदान नगर्ने सदस्य राष्ट्रमध्ये अमेरिका अधीनस्थ गुवाम, यूएस भर्जिन आइल्यान्ड र पोर्तो रिको थिए।

संयुक्त विश्वकपमा १४ अर्ब अमेरिकी डलरको आम्दानी हुने अनुमान गरिएको छ । त्यसबाट फिफालाई मात्रै ११ अर्ब डलर फाइदा हुनेछ।

कुल ८० खेलमध्ये अमेरिकामा ६० र क्यानडा र मेक्सिकोमा १०-१० खेलिनेछन्। फाइनल खेल भने झन्डै ८५ हजार दर्शक अट्ने मेटलाइफ रङ्गशालामा  हुनेछ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com