समानुपातिकतर्फ एमाले ३४, काँग्रेस ३२, माओवादी केन्द्र १४, स्वतन्त्र पार्टी १३, राप्रपा ७ सिट


प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार

निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन् ।

प्रतिनिधिसभामा सात राजनीतिक दलले ९२ लाख ७१ हजार सात सय १२ मत प्राप्त गरेका छन् । जसअनुसार नेकपा (एमाले) ले कूल सदर मतको ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरी ३४ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २९ दशमलव २९ प्रतिशत मत प्राप्त गरी ३२ सिट पाएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)ले कूल सदर मतको १२ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १२ दशमलव १९ प्रतिशत मत प्राप्त गरी १३ सिट पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ दशमलव ३५ मत प्राप्त गरी सात सिट, जनता समाजवादी पार्टीले ४ दशमलव ५४ मत प्राप्त गरी पाँच सिट र जनमत पार्टीले ४ दशमलव २६ मत प्राप्त गरी पाँच सिट प्राप्त गरेको छ ।

कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरेर ८९ सिट पाएको छ। एमालेले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट गरी ७८ सिट पाएको छ। नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट पाएर कुल ३२ सिटका साथ प्रतिनिधिसभामा तेस्रो ठूलो शक्ति बनेको छ।

नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ र प्रत्यक्षमा ७ गरी २० सिट पाएको छ। अघिल्लो संसद्‌मा एक सिट मात्रै जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यो निर्वाचनबाट ७ सिट प्रत्यक्ष र ७ सिट समानुपातिकमा जितेर १४ सिटसहित पाँचौँ ठूलो दल बनेको छ।

प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीले समानुपातिकतर्फ तीन प्रतिशत मत नकटाउँदा समानुपातिकतर्फ सिट पाएन।

सातै प्रदेशको मतपरिणामअनुसार निर्वाचनमा सहभागी दललाई आयोगले सिट बाँडफाँट गरेको छ ।

प्रदेश नम्बर १

नेकपा (एमाले) ले प्राप्त गरेको ३८ दशमलव ५५ प्रतिशत मत प्राप्त गरी १५ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले ३२ दशमलव ६१ प्रतिशत मत प्राप्त गरी १२ सिट प्राप्त गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ दशमलव ५ प्रतिशत मतले ४, नेकपा ( माओवादी केन्द्र) ले १० दशमलव ५ प्रतिशतले ४ सिट, जनता समाजवादी पार्टी, नेपालले ३ दशमलव ५ प्रतिशतले एक, नेकपा (एस)ले ३ दशमलव २४ प्रतिशत मतले एक सिट प्राप्त गरेको छ । यस प्रदेशमा छ राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ कटाएका छन् ।

मधेस प्रदेश

यस प्रदेशमा १० राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेपाली कांग्रेसले २० दशमलव ४९ प्रतिशत मत प्राप्त गरी नौ सिट पाउँदा नेकपा(एमाले) ले १८ दशमलव मतले आठ सिट प्राप्त गरेको छ । जनमत पार्टीले १६ दशमलव ८६ मत प्राप्त गरी सात सिट प्राप्त गरेको छ भने जनता समाजवादीले १५ दशमलव ३ प्रतिशत मतले सात सिट प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा(माओवादी केन्द्र) ले नौ दशमलव २६ प्रतिशत मत प्राप्त गरी चार सिट, नेकपा(एस)ले ५ दशमलव ८३ प्रतिशत मत प्राप्त गरी तीन सिट र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५ दशमलव ८ प्रतिशत मत प्राप्त गरी दुई सिट प्राप्त गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ दशमलव ३३ प्रतिशत मतले एक, नेपाल सङ्घीय समाजवादी पार्टीले २ दशमलव ५७ मतले एक र नागरिक उन्मुक्ति पार्टीले दुई प्रतिशत ५५ दशमलव मतले एक सिट प्राप्त गरेको छ ।

बागमती प्रदेश

यस प्रदेशमा सात राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेकपा(एमालले) ३२ दशमलव ३९ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले २७ दशमलव २४ प्रतिशत मत पाई १२ सिट प्राप्त गरेको छ ।

त्यस्तै नेकपा(माओवादी केन्द्र)ले १५ दशमलव ५५ प्रतिशत मत प्राप्त गरी सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ दशमलव ८३ प्रतिशत मतले ६ सिट प्राप्त गरेको छ । यता, नेकपा(एस)ले ३ दशमलव ७४ प्रतिशत मत र नेपाल मजदुर किसान पार्टीले ३ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी समान दुई सिट प्राप्त गरेका छन् । हाम्रो नेपाली पार्टीले २ दशमलव ५७ प्रतिशत मतले एक सिट संङ्ख्या प्राप्त गरेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा चार राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएर प्रदेशसभा सदस्य प्राप्त गरेका छन् । नेकपा (एमाले)ले ३९ दशमलव ०३ प्रतिशत मतले १० र नेपाली कांग्रेसले ३७ दशमलव ०८ प्रतिशत मतले नौ सिट प्राप्त गरेको छ । नेकपा(माओवादी केन्द्र)ले १२ दशमलव ४ प्रतिशत मतले तीन सिट र हाम्रो नेपाली पार्टीले ६ दशमलव ३१ प्रतिशत मतले दुई सिट प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेश

यस प्रदेशमा १० राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेकपा (एमालले) ले ३२ दशमलव १२ प्रतिशत मतले ११ सिट र नेपाली कांग्रेसले २८ दशमलव १३ प्रतिशत मतले १० सिट सङ्ख्या प्राप्त गरेको छ । नेकपा(माओवादी केन्द्र)ले ११ दशमलव १६ प्रतिशत मतले चार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ दशमलव १७ प्रतिशत मतले दुई, नागरिक उन्मुक्ति पार्टीले ७ दशमलव ०६ प्रतिशत मतले दुई र जनमत पार्टीले ४ दशमलव ५९ प्रतिशत मतले दुई सिट प्राप्त गरेको छ ।

त्यसैगरी जसपा नेपालले ३ दशमलव ४२ प्रतिशत मतले एक, नेकपा(एस)ले २ दशमलव ४ प्रतिशत मतले एक, लोसपा नेपालले २ दशमलव १२ प्रतिशत मतले एक र राष्ट्रिय जनमोर्चाले १ दशमलव ८४ प्रतिशत मतले एक सिट प्राप्त गरेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा छ राजनीतिक दलमध्ये पाँच दलले सिट प्राप्त गरेका छन् । नेकपा (एमाले)ले ३२ दशमलव ७१ प्रतिशत र नेपाली कांग्रेसले ३० दशमलव ३६ प्रतिशत मतले समान पाँच सिट सङ्ख्या प्राप्त गरेका छन् ।

नेकपा(माओवादी केन्द्र)ले २४ दशमलव ४७ प्रतिशत मतले चार सिट प्राप्त गरेको छ । यस्तै नेकपा(एस)ले ६ दशमलव ३७ प्रतिशत मत र राप्रपाले ४ दशमलव ४७ प्रतिशत मतले एक/एक सिट प्राप्त गरेको छ ।

सुदूरपश्चिम प्रदेश

यस प्रदेशमा छ राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेकपा(एमाले)ले ३२ दशमलव २३ प्रतिशत मतले सात सिट सङ्ख्या प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले ३१ दशमलव ६३ प्रतिशत मतले सात सिट सङ्ख्या प्राप्त गरेको छ ।

नेकपा(माओवादी केन्द्र) ले १४ दशमलव २५ प्रतिशत मतले तीन सिट र नागरिक उन्मुक्ति पार्टीले ११ दशमलव ५६ प्रतिशत मतले दुई सिट प्राप्त गरेको छ । यता नेकपा (एस)ले ५ दशमलव १४ प्रतिशत मत र राप्रपाले ५ दशमलव १९ प्रतिशत मतले एक/एक सिट प्राप्त गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com