Follow @khasokhasmag

सुक्दै मुहान, साँघुरिँदै खोला


प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार

कुनै समय आफ्नै खेतबारीमा पानीका मुहान हुन्थे । वनमा जाँदा प्रत्येक ठाउँमा पानीका मुहान भेटिन्थे । खेतमा धान रोप्दा वर्षायाममा कुलो लगाउनु पर्दैन थियो । हिउँदमा पनि पानीको समस्या हुने थिएन । पानीको मात्रा केही घटे पनि मुहान कहिल्यै सुकेनन् ।

अहिले त्यो समय परिवर्तन भएको छ । पानीका मुहान भेट्न खोज्नुपर्दछ । खोजेपछि पनि अग्ला पहाडमा पानीका मुहान भेटिन छाडेका छन् । पानीका मुहान भेट्न पहाडको फेदीमा झर्नुपर्दछ । यसरी पनि विरलै भेटिन्छन् पानीका मुहान् ।

गुल्मीको मालिका गाउँपालिका–५ का गोविन्द विकले पहाडमा भेटिने पानीका मुहान अहिले सुक्दै गएको बताउनुभयो । आजभन्दा ६० वर्षपहिले छापहिलेका शिरमा भएका खोल्सामा पनि पानीका मुहान थिए । विस्तारै वनजङ्गलको फँडानी, सडक विस्तार र मुहानको संरक्षण नगर्नेलगायत मानवीय क्रियाकलापले पानीका मुहान सुकेर सीमित भएका हुन् ।

मालिका क्षेत्रमा रहेका सदाबहार मुहान अहिले मौसमी मुहानका रूपमा परिणत भएको मालिका गाउँपालिका–१ का रुद्रबहादुर पुनले बताउनुभयो । मुहानहरू सुक्दै गएपछि खानेपानीको समस्या पनि बढ्दै गएको छ । मुहानहरू सुक्दै गएपछि लुम्बिनी प्रदेशकै सबैभन्दा अग्लो मदाने लेकको कोखबाट बग्ने निस्ती खोला पनि साँघुरिँदै गएको छ । आजभन्दा ६० वर्षभन्दा पहिले हिउँदमा पनि खोला तर्न हम्मेहम्मे हुने निस्ती अहिले मौसमी खोलाका रूपमा मात्र सीमित रहेको छ । मुहानहरू सुक्दै गएपछि निस्ती खोला पनि साँघुरिँदै गएको स्थानीय अगुवा देवबहादुर महताराले बताउनुभयो ।

नेपालमा वर्षमा एक तिहाइ समय मात्र आकासे पानी पर्ने गर्दछ । अन्य समय जमिन सुक्खा रहन्छ । पानीका मुहानले बाह्रै महिना पानीको उपलब्धता गराउन र खोलामा बग्ने पानीलाई स्थिर राख्न सहयोग पु¥याउँछ । तर, बर्सेनि पानीका मुहानहरू सुक्नाले खानेपानीकोे अभाव, वातावरणमा उजाडपन, खेतीयोग्य जमिनमा कमी र सदाबहार बगिरहने खोला मौसमी रूपमा परिणत हुन पुगेका हुन् ।

मालिका आसपासका क्षेत्रमा मुहानहरू सुक्नाले निस्ती खोला साँघुरिएको मात्र होइन, छल्दी, पनाह, रिडी, बडिगाड खोलालाई पनि मौसमी नदीका रूपमा कायम राख्न थालेको हो । इस्मा गाउँपालिकाअन्तर्गत माथिल्लो तहको भूभागमा पनि पानीका मुहानहरू नै छैनन् । अग्ला पहाड, थुप्रै मोटरबाटोको विस्तार, वनजङ्गलको फँडानी र अन्य मानवीय क्रियाकलापले गर्दा पानीका मुहानहरू इतिहास मात्र बनेको इस्मा गाउँपालिका–४ का रामबहादुर खत्रीले बताउनुभयो । इस्माको माथिल्लो क्षेत्रमा अहिले मदानेको लेकबाट लिएर खानेपानीको समस्या समाधान गरिएको छ ।

मोटरबाटोको विस्तारका कारण माथिल्लो भूभागमा भएका पानीका मुहानहरू तल्लो भूभागमा देखापर्ने गरेको र केही मुहान सधैँका लागि हराएर जाने गरेको मदाने गाउँपालिका–६ का ८० वर्षीय दुर्गा कुँवरले बताउनुभयो । पानीका मुहानहरू सुकेपछि आफूहरूलाई खानेपानी डेढ घण्टा टाढा हिँडेर बोक्नुपर्ने स्थिति रहेको सोही क्षेत्रकी शान्त विकले बताउनुभयो । मुहान सुकेपछि यस क्षेत्रबाट बग्ने खोलाहरू पनि साँघुरिँदै गएका छन् । अहिले मौसमी रूपमा मात्र केही मुहान देखिन्छन् । चन्द्रकोट गाउँपालिकाको माथिल्लो क्षेत्रमा पनि मुहानहरू विस्तारै सुक्दै गएको चन्द्रकोट–८ तुराङ किसिकोटकी लक्कीमाया बस्नेतले बनाउनुभयो ।

जलवायु परवर्तनबाट हुने अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टिले गर्दा बाढीपहिरो जाने, खडेरी हुने र पटकपटक जाने भूकम्प जस्ता प्राकृतिक कारणले पानीका मुहानहरू सुक्दै गएका छन् । जथाभावी सडक खोल्नाले, वनजङ्गलको फँडानी गर्नाले, आगो लगाउनाले र वातावरणलाई असर पु¥याउने जस्ता मानवीय कारणले पानीका मुहान सुक्दै गएको बताइएको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com