माया लुहार हत्या प्रकरण: सशस्त्रका जवानको नाममा किटानी जाहेरी


प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ ।

मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरीको आधारमा कोलीको खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

यस्तै सोही ठाउँकी १५ वर्षीया किशोरी नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते भएको अवस्थामा भेटिएकी थिइन् । नेहालाई रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा फेला पारिएको थियो ।

घाइते नेहा लुहारको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेसँग गरिएको सोधपुछका आधारमा भरत कोली घटनामा संलग्न रहेको खुलेको जनाइएको छ ।

माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ भन्ने स्थानमा हिँडेका र बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार मायाको शव फेला परेको थियो । नेहालाई घाइते अवस्थामा फेला पारिएको थियो ।

घटनाको सूक्ष्मरूपमा अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको टोली दुई दिनसम्म घटनास्थलमै बसेको थियो ।

फरार रहेका भरतको र मायाको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने खुल्न आएको छ । प्रेमसम्बन्धमा रहेका माया र भरतको बिहे गर्ने समेत तयारी थियो । बिदामा घर आएका भरतले केही दिन अगाडि मायाको मोबाइल फोन नियन्त्रणमा लिएका थिए । मङ्गलबार मोबाइल लिन बोलाएकै बेला मायाको हत्या भएको हो ।

माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेकी थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायत सामग्री बरामद गरेको छ । बरामद गरिएका सामग्रीबाट थप कुरा खुल्दै जाने प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “बरामद गरिएका सामग्रीबाट हामीलाई अनुसन्धानमा सहयोग मिल्नेछ, घटनाको सूक्ष्मरूपमा अनुसन्धान भइरहेको छ, अहिले नै सबैकुरा भन्न मिल्दैन ।”

जिल्ला अस्पतालमा मृतको शव परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ । परीक्षण रिपोर्ट सार्वजनिक गरिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com