राष्ट्रिय पार्टी बन्न एमाले, कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र पार्टीले कटाए थ्रेसहोल्ड


प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । आज साँझ ७ः४५ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले सात लाख १४ हजार सात सय तीन मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले छ लाख ७७ हजार एक सय ६०, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख ३९ हजार दुई सय १०, नेकपा (माओवादी केन्द्र) ले तीन लाख १५ हजार आठ सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ६४ हजार दुई सय ७८, नेपाल मजदुर किसान पार्टीले ५२ हजार छ सय ६९, जनता समाजवादी पार्टी नेपालले ९६ हजार चार सय तीन, जनमत पार्टीले ५५ हजार तीन सय १५, नागरिक उन्मुक्ति पार्टीले ५३ हजार सात सय ८१ र नेकपा (एकीकृत समाजवादी) पार्टीले ४६ हजार नौ सय ८३ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ३७ हजार पाँच सय ६४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले एक लाख ४० हजार चार सय ६४, कांग्रेसले एक लाख २६ हजार पाँच सय ५०, माओवादी केन्द्रले ४८ हजार नौ सय ६६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६ हजार आठ सय ५७ र जनता समाजवादी पार्टी, नेपालले २१ हजार नौ सय ४४ मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशमा कांग्रेसले ६० हजार छ सय ९४, एमालेले ४७ हजार तीन सय ९५, जनता समाजवादी पार्टी नेपालले ३८ हजार सात सय ५६, जनमत पार्टीले ३४ हजार आठ सय ६५ र माओवादी केन्द्रले १९ हजार एक सय १० मत प्राप्त गरेका छन् ।

बागमती प्रदेशमा एमालेले एक लाख २५ हजार नौ सय ९३, कांग्रेसले एक लाख १४ हजार चार सय पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८७ हजार तीन सय ७९, नेपाल मजदुर किसान पार्टीले ५५ हजार दुई सय ४६ र माओवादी केन्द्रले ४५ हजार दुई सय २२ मत प्राप्त गरेका छन् ।

गण्डकीमा एमालेले एक लाख ५१ हजार नौ सय ६६, कांग्रेसले एक लाख ३७ हजार छ सय ५३, माओवादी केन्द्रले ७५ हजार पाँच सय दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार तीन सय ५६ र नेकपा (एकीकृत समाजवादी) नौ हजार एकसय ८४ मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेले एक लाख ८० हजार तीन सय ९५, कांग्रेसले एक लाख ५२ हजार एकसय ३७, माओवादी केन्द्रले ५३ हजार सात सय ३७, राप्रपाले ४३ हजार चार सय ८८ र नागरिक उन्मुक्ति पार्टीले २१ हजार पाँचसय ११ मत प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशमा माओवादीले ३७ हजार चार सय ४८, एमालेले २१ हजार आठ सय २१, कांग्रेसले १४ हजार चार सय १२, नेकपा (एकीकृत समाजवादी) ले चार हजार आठ सय ४१, राप्रपाले दुई हजार सात सय ५० र नेपाल मजदुर किसान पार्टी एक हजार दुई सय ४१ मत प्राप्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा एमालेले नौ हजार पाँच सय ३३, कांग्रेसले सात हजार ८६, माओवादी केन्द्रले पाँच हजार दुई सय ७३, राप्रपाले एक हजार चार सय ७१ र नागरिक उन्मुक्ति पार्टीले दुई हजार तीन सय ३५ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय पार्टी बन्ने मापदण्ड कस्तो छ ?

राजनीतिक दल सम्बन्धी ऐन अनुसार प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ।

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ अनुशार समानुपातिकमा तीन प्रतिशत भन्दा कम मत ल्याउने दलहरूको मत दलले प्राप्त गरेको कुल मतमा गणना नगरिने व्यवस्था छ । जस अनुसार तीन प्रतिशत नपुर्‍याउने कैयौँ दलहरूले प्राप्त गरेको मत गणना हुँदैन।

निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल ४८ वटा दलले भाग लिएका छन्।

राष्ट्रिय दलको मान्यता पाएका पार्टीले संसद्मा एउटा संसदीय दलको कार्यालय सहित सांसदको सङ्ख्या अनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन्। संसद् सचिवालयले यस्तो मान्यता पाएका दलहरूलाई संसदीय दलको सुविधा उपलब्ध गराउँछ ।

हरेक राष्ट्रिय दलको संसदीय दलका प्रमुख सचेतकले पनि संसद् सचिवालयबाट गाडी सहित सचिवालय र कर्मचारी सुविधा पाउँछन्।

त्यस्तै राष्ट्रिय दलले हरेक निर्वाचनमा आफ्नो चुनाव चिन्ह कायम राख्ने सुविधा पाउँछन्। तर राष्ट्रिय दलको मान्यता असफल भएका पार्टीहरूले हरेक निर्वाचनमा त्यही चुनाव चिन्ह पाउँछन् भन्ने निश्चित हुँदैन। यद्यपि निर्वाचन आयोगले उनीहरूले रोजेको चुनाव चिन्ह प्रदान गर्दै आएको छ।

राष्ट्रिय मान्यता प्राप्त दलले पाएको मत अनुसार मतपत्रमा चुनाव चिन्ह पनि सबैभन्दा अगाडिबाट क्रमशः राखिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com