बुद्ध जन्मस्थलका पुरातात्विक अवशेषको दिगो संरक्षणबारे छलफल


प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार

लुम्बिनीभित्र रहेको बुद्ध जन्मस्थलका पुरातात्विक अवशेषको संरक्षणका लागि विज्ञबीच छलफल गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र युनेस्कोको आयोजनामा एकदिने पुरातत्व विज्ञसँग छलफल गरिएको हो ।

मायादेवी मन्दिर, बुद्धजन्मस्थल क्षेत्रमा रहेका मार्कन स्टोन, अशोक स्तम्भ, बुद्ध जन्मेको स्थलका पुरातात्विक अवशेषको अवस्था र दिगो संरक्षणको योजनाका बारेमा छलफल भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिनुभयो । उहाँले मायादेवी मन्दिर र बुद्ध जन्मस्थलको संरक्षणबारे विज्ञले महत्त्वपूर्ण सुझावसहितको प्रस्तुती राखेको बताउनुभयो ।

उक्त अवसरमा जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर नमन पी आउजा, संरक्षणविज्ञ मुसी, दुर्हम विश्वविद्यालय बेलायतका पुरातत्व सल्लाहकार प्रोफेसर रविन कनिङघमले प्रस्तुती राख्नुभएको थियो । छलफलमा विषयवस्तुमाथि विश्वसम्पदाका विज्ञ काई वेइस, विज्ञ प्राध्यापक प्रेमनाथ मास्के, विज्ञ डा विजयमान शाक्य, युनेस्को नेपालका प्रतिनिधि मिचल कार्फटले टिप्पणी गर्नुभएको थियो । मायादेवी मन्दिर र बुद्ध जन्मस्थलमा केही वर्षदेखि पुरातत्त्व अवशेष संरक्षणमा चुनौती थपिएकाले यो छलफल गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश श्रेष्ठ तथा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले लुम्बिनीका पुरातत्त्वको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको थियो ।

विज्ञसहितको प्राविधिक पक्षबारे गरिएको उक्त छलफलपछि मायादेवी मन्दिर र बुद्ध जन्मस्थल क्षेत्रको भग्नावषेश पुरातत्त्वको संरक्षणको नयाँ योजना बन्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com