कम दक्ष बाहेक अरुको रोजगारमा आधारित ग्रिनकार्ड सेप्टेम्बरमा करेन्ट, दक्षता नहुनेलाई साढे ३ बर्ष


प्रकाशित मिति : श्रावण २३, २०७९ सोमबार

अन्य कामदार अन्तरगत रोजगारमा आधारित तेश्रो श्रेणीमा प्रदान गरिने खास दक्षता नभएका कामदारको बाहेक  रोजगारमा आधारित सबै श्रेणीका ग्रिनकार्ड सेप्टेम्बरमा पनि करेन्ट रहेका छन् । सेप्टेम्बरको भिसा बुलेटिन अनुशार सेप्टेम्बरमा अमेरिकामा हुने रोजगारमा आधारित तेश्रो श्रेणीका अन्य कामदार बाहेक सबै श्रेणीका आवेदकहरुले आई १४० आवेदनका साथमा नै आई ४८५ अर्थात् ग्रिनकार्ड आवेदन पेश गर्न सक्नेछन् ।  भिसा करेन्ट भएकाले कुनै समय प्रतिक्षा गर्नुपर्नेछैन ।

आई ४८५ फाइल गरेपछि उक्त आवेदन पेन्डिङ रहेको अवधिसम्म उनीहरुले वर्क परमिट प्राप्त गर्नसक्नेछन् । यद्यपी तेश्रो श्रेणीमा पर्ने अन्य कामदारको ग्रिनकार्ड पाउने अवधि भने  करेन्ट छैन । ८ मे २०१९ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले मात्र सेप्टेम्बरमा ग्रिनकार्ड आवेदन पेश गर्न सक्नेछन् । तेश्रो श्रेणीमा दक्ष कामदार, पेशाकर्मीहरुको लागि ग्रिनकार्डका लागि प्रतिक्षा गर्नु नपरेपनि खास दक्षता नभएका अन्य कामदारको ग्रिनकार्डका लागि भने लामो समय लाग्ने भएको छ ।

२ बर्षभन्दा कम अवधि खास दक्षता नचाहिने काम गरेको अनुभव, उक्त कामका लागि अमेरिकामा कामदार नभएको अवस्था र लेबर सर्टिफिकेशनका अन्य प्रावधानहरु पूरा गरेका व्यक्ति रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारमा योग्य हुनसक्छन् । यो श्रेणीमा अमेरिकामा नेपालीहरुको संख्या ठूलो रहेको छ । तर उनीहरुका लागि भिसा करेन्ट नहुँदा भिसा करेन्ट हुँदासम्मका लागि स्टाटस जोगाउन निकै समस्या हुनेगरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रिनकार्ड करेन्ट भएकाहरुले ग्रिनकार्ड प्राप्त नहुँदै आवेदन पेन्डिङ रहेको अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरेको खण्डमा उनीहरुले एड्भान्स परोल डकुमेन्टका लागि समेत आवेदन दिन सक्नेछन् । आई ४८५ फाइल गर्न पाउने भएकाले फाइल गरेको मितिदेखि उनीहरु अन्य अध्यागमन स्टाटसमा रहेको खण्डमा उक्त स्टाटस जोगाइराख्ने झन्झट हुँदैन । किनभने आई ४८५ फाइल भएको मितिपछिको समयलाई गैरकानूनी उपस्थीति गणना गरिदैन ।

विगतमा केही समय देखि नेपालीहरु लगायतका लागि रोजगारमा आधारित भिसाहरु करेन्ट रहदै आएका छन् । चीन, एल साल्भाडोर, होण्डुरस, ग्वाटेमाला र भारतका लागि भने रोजगारमा आधारित सबै श्रेणीका भिसाहरु सेप्टेम्बरमा करेन्ट छैनन् ।

नेपालीहरुका लागि भिसा करेन्ट नभएको अवस्थामा रोजगारमा आधारित ग्रिनकार्डका लागि आई १४० दिइसकेपछि एकसाथ ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न मिल्ने अवस्था थिएन । आई ४८५ फाइल गर्नका लागि भिसा करेन्ट हुन्जेल प्रतिक्षा गर्नुपर्ने अवस्था थियो ।

जसका कारण भिसा करेन्ट हुन्जेल आई १४० आवेदन दिनेहरुले आफ्नो स्टाटस जोगाइराख्नुपर्ने बाध्यता र झन्झट समेत थियो । उक्त झन्झटका कारण अमेरिकामा विभिन्न गैरआप्रवासी भिसामा आउनेहरुले अमेरिकामा आई १४० आवेदन दिएर नेपाल फर्केर ग्रिनकार्ड कुर्ने अवस्था समेत आएको थियो ।

आई १४० का साथमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गरेको भएतापनि यदि आई १४० आवेदन अस्वीकृत भएमा भने युएससीआईएसले आई ४८५ आवेदन स्वत अस्वीकृत गर्दै आएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com