बैंककमा विश्वब्यापी प्रतियोगिताका लागि ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ प्रतियोगिता घोषणा


प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार

मिस्टर मोडल अफ द वर्ल्ड नेपालका विजेताले नेपालको तर्फबाट बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्डमा प्रतियोगी हुन पाउनेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरु सहभागी हुनेछन् ।

थाइल्याण्डको बैंककमा हुने ‘मिस्टर मोडल अफ द वर्ल्ड’को प्रतियोगी छनौटका लागि ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ प्रतियोगिता घोषणा गरिएको छ । विगतमा अन्य प्रतियोगितामा छनौट भएका मोडलहरु पनि मिस्टर मोडल अफ द वर्ल्डमा प्रतियोगी हुने गरेकोमा अबदेखि मिस्टर मोडल अफ द वर्ल्ड नेपालका विजेतामात्र नेपालको तर्फबाट मिस्टर मोडल अफ द वर्ल्डमा प्रतियोगी हुन पाउनेछन् ।

मिस्टर मोडल अफ द वर्ल्ड नेपालको अन्तिम प्रतियोगिता आगामी सेप्टेम्बर ३ मा हुनेछ भने त्यसका लागि आजदेखि आवेदन खुला गरिएको छ । प्याजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले गर्ने प्रतियोगिताबाट छनौट भएका विजेताले आगामी नोभेम्बर ३ देखि ७ मा थाइल्याण्डको बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्डमा भाग लिनेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरु सहभागी हुनेछन् ।

हेरिटेज प्यालेस भक्तपुरमा आयोजना गरिने प्रतियोगिताका लागि आवेदन दिन इमेल ठेगाना [email protected] वा मिस्टर मोडल अफ द वर्ल्ड नेपालको फेसबुक पेजमार्फत सम्पर्क गर्न सकिनेछ । त्यसपछि आयोजकले पठाएको आवेदन फर्म भरेर प्रतियोगितामा सहभागी हुन सकिनेछ । मिस्टर मोडल अफ द वर्ल्डकै योग्यताको मापदण्ड अनुशार मिस्टर मोडल अफ द वर्ल्ड नेपालका लागि पनि योग्यताको मापदण्ड तोकिएको आयोजकले जानकारी दिएका छन् ।

१८ बर्षदेखि ३२ बर्षभित्रको नेपाली नागरिकले प्रतियोगितामा भाग लिन पाउनेछन् । विदेशमा रहेका नेपाली नागरिकले समेत प्रतियोगितामा भाग लिन पाउनेछन् भने उचाई र शिक्षाको मापदण्ड तोकिएको छैन । विजेतालाई बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्ड  प्रतियोगितामा सहभागी हुनका लागि सबै खर्च मिस्टर मोडल अफ द वर्ल्ड नेपालका आयोजकले नै बेहोर्नेछन् ।

यसपटक बैंककमा मिस्टर मोडल अफ द वर्ल्डको तेश्रो संस्करण हुन लागेको हो । यस अगाडि २०१८ मा म्यानमारको यंगुन र २०१९ मा थाइल्याण्डको च्यांगमाईमा प्रतियोगिता भएको थियो भने नेपालका तर्फबाट २०१८ मा मोडल दिक्पाल कार्की र २०१९ मा मोडल मनोज गुरुङले प्रतियोगितामा भाग लिएका थिए । दिक्पाल कार्कीले मिस्टर मोडल अफ द वर्ल्डको उपाधी जितेका थिए । कोरोना महामारीका कारण २०२० र २०२१ मा भने प्रतियोगिता हुन पाएन ।

आज भक्तपुरको हेरिटेज प्यालेसमा भएको मिस्टर मोडल अफ द वर्ल्ड नेपाल घोषणा कार्यक्रममा टाइटल स्पोन्सरका लागि एन प्लस प्रोफेशनलकी ब्राण्ड एम्बेसडर विना श्रेष्ठ र मिस्टर मोडल अफ द वल्र्ड टिमबीच सम्झौतापत्रमा हस्ताक्षर समेत गरिएको छ । मिस्टर मोडल अफ द वर्ल्ड नेपालका इभेन्ट डाइरेक्टर मोडल दिक्पाक कार्की रहेका छन् भने क्रियटिभ डाइरेक्टर मोडल अक्षय जंग रायमाझी रहेका छन् ।

म्यानेजिङ डाइरेक्टर आशिष नापित रहेका छन् भने इभेन्ट म्यानेजर राजन बुढाथोकी रहेका छन् । मार्केटिङ प्रमुख जोर्डन रहेका छन् । आजको घोषणा कार्यक्रमको संचालन मिस कस्मोपोलिटन वर्ल्ड २०१९ प्रिया रानी लामाले गरेकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com