पार्टी महासचिवमा वर्षमान, जनार्दन अर्थमा नै फर्किने


प्रकाशित मिति : असार २३, २०७९ बिहीबार

नेकपा माओवादी केन्द्रको महासचिव पद कसलाई दिने भन्ने विषय अझै टुङ्गो लागेको छैन । जनार्दन शर्मा र वर्षमान पुनमध्ये एक जना महासचिव बन्ने पक्का भए पनि दुवै जनाले अडान नछोडेपछि अध्यक्ष प्रचण्ड गृहकार्यमा छन् ।

एक जना केन्द्रिय सदस्यने पुनलाई नै महासचिव बनाउने तयारी भइरहेको दाबी गरे । शर्मामाथिको संसदीय छानबीन प्रतिवेदनले दोषी नदेखाउने विश्वास गरेर पुनः उनै शर्मा अर्थमन्त्रालयमा फर्किने भएकाले महासचिव पद वर्षमानलाई दिने पक्का जस्तै भएको ति नेताको  भनाइ छ ।

नाम नबताउने शर्तमा ति सदस्यले भने ‘शक्ति बस्नेत, हरिबोल गजुरेल र पम्फा भुसाल पनि महासचिव पदका हकदार हुन तर उनीहरुलाई दिँईदैन, पार्टीमा  धेरै खेल हुन्छन् ।’

पार्टी विधानमा  ७ जना उपाध्यक्ष, तीन जना सचिव र एक जना कोषाध्यक्ष बनाउन पाउने व्यावस्था रहेको छ । महासचिव बन्ने आकांक्षा राखेका अन्य नेतालाई उपाध्यक्षमा मिलाउने प्रचण्डको तयारी छ । नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष दिने तयारी भएको छ । उपाध्यक्षमा नअटाएका नेतालाई सचिव बनाउने तयारी भइरहेको छ । त्यसैगरी उपसचिव पदमा पनि समेटिनेछन् । उपसचिव दुई जना बनाउने भनिएको छ । पदाधिकारीको कूल संख्या १५ रहनेछ ।

तर पदाधिकारीमा विवाद धेरै बढ्यो भने स्थायी कमिटि, पोलिटब्यूरो र कार्यालय (सचिवालय) मात्रै गठन गर्ने विकल्प प्रचण्डले सोचेको ति केन्द्रिय सदस्यले बताए ।
माओवादीको केन्द्रिय समिति बैठक आइतबार सुरु भएको थियो ।

सोमबार पनि बैठक बस्यो । त्यसपछि मंगलबार र बुधबार बैठक स्थगित गरिएको थियो । महासचिवलगायत पदाधिकारी कसकसलाई बनाउने भन्ने सहमति खोज्नका लागि बैठक स्थगित गरेर प्रचण्ड गृहकार्यमा जुटेका थिए । तर यही समयमा अर्थमन्त्री शर्मा विवादमा परेपछि गृहकार्य प्रभावकारी बन्न सकेको थिएन ।-एनएनबी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com