जसपा विभाजनको संघारमा पुगेको छ :डाक्टर भट्टराई


प्रकाशित मिति : असार १८, २०७९ शनिबार

 

 

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको संघारमा पुगेको स्वीकार गरेका छन् । जसपा निकट गोरखा काठमाण्डौ सम्पर्क संयन्त्रको भेलालाई सम्बोधनगर्दै भट्टराईले जे लक्ष्य लिएर अघि बढेको हो त्यो प्राप्त नहुँदै तल भर्ने अवस्था आएको बताएका हुन् ।

उनले बैकल्पिक राजनीतिक यात्रामा अवरोध आएको संकेत गरेका हुन् । २०७३ सालमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा नयाँ शक्तिको स्थापना गरे पनि अहिले बाटो विराएर लक्ष्यविहिन अवस्थामा पुगेको भट्टराईको भनाई छ ।

कार्यकर्ता माझ उनले भने, हामी कता कता लडखडाइरहे जस्तो, बाटो विराए जस्तो, लक्ष्यविहिन भए जस्तो अवस्थामा हामी सबै छौँ । म पनि बेलाबेलामा झसंग झसंग भएर ब्यूझिन्छु ।

नयाँ शक्ति निर्माणदेखि जनता समाजवादी पार्टीसम्म आइपुग्दा वालुवाको घर बनाए जस्तो भएको भट्टराईको टिप्पणी छ । समाज रुपान्तरणको अभियान रातारात पूरा नहुने भएकाले समयअनुसार पटक पटक परीक्षण गर्नुपरेको उनको भनाई छ । वैकल्पिक राजनीतिको दोकान खोल्ने चलन बढेकोप्रति भट्टराईले असन्तुष्टी व्यक्त गरेका छन् ।

कांग्रेस र कम्युनिष्टको विकल्प दिनुपर्ने भएकाले आफूले नयाँ शक्तिको अवधारणा ल्याए पनि सोचेजस्तो सफल हुन नसकेको भट्टराईले बताए । तर आफ्नो अवधारणा गलत नभएको उनको जिकिर छ । केही मुद्धामा समानता देखेर पुराना पार्टीसँग सहकार्य गर्दा असफल भएको उनको ठहर छ ।-एनएनबी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com