स्व.छोरा प्रकाशको शालिक अनावरण गर्दै प्रचण्डले ककनीबाट यस्तो भने


प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भएका हिमाल र पर्वतका कारण पर्यटन क्षेत्रको विकासको सम्भावना धेरै रहेको बताएका छन् ।

नुवाकोटको ककनीमा स्वर्गीय छोरा प्रकाश दाहालको शालिक अनावरण कार्यक्रमलाई सम्बोधनगर्दै दाहालले नेपाल पर्वतीय पर्यटनको विकासका लागि उर्वर ठाउँ भएको बताएका हुन् ।
पर्यटनको विकासका लागि पर्वतहरु कहिलै नसकिने अनन्त स्रोत भएको दाहालको भनाई छ । दाहालले पर्यटन विकासका लागि ककनी पनि राम्रो गन्तव्य भएको बताए ।

उनले हिमाल पहाड तराई, बडो छोटो दुरीमा भएको, यस्तो अनुपम भूराजनीति, भूगोलको स्थिती दुनियाँमा कमै भेटिन्छन् । त्यसकारण पर्यटनको विकासका निम्ति यि पर्वतहरु कहिलै नसकिने अनन्त स्रोतहरु भएको बताए ।


नेपाल पर्वतारोहण संघले नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ६ मा स्वर्गीय प्रकाश दाहालको शालिक निर्माण गरेको छ । स्वर्गीय दाहाल लगायतको टिमले २०६९ साल जेठमा सगरमाथाको सफल आरोहण गरेका थिए । जनयुद्धका योद्धाहरुले लुम्बिनी सगरमाथा शान्ति पदयात्रा गर्नुले युद्धका लागि मात्र होइन, शान्तिका लागि महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने प्रमाणित भएको दाहालले बताए । उक्त टिमले लुम्बिनी सगरमाथा शान्ति पदयात्राका क्रममा आरोहण गरेका थिए ।

दाहालको जन्मजयन्तिका अवसरमा आज शालिक अनावरण गरिएको हो । स्वर्गीय दाहालले सगरमाथा आरोहण गरेको हुनाले उनलाई पर्वतारोहीको रुपमा सम्मान गर्दै शालिक निर्माण गरिएको संघले जनाएको छ । उक्त शालिक अन्तराष्ट्रिय पर्वतीय स्मृति पार्कमा निर्माण गरिएको हो । प्रचण्डका छोरा प्रकाशको २०७४ साल मंसिर ३ गते निधन भएको थियो ।-NNB

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com