केयूकेएल र ट्याङ्करको पानीमा हैजाको जीवाणु,पानी पनि उमालेर मात्रै पिउन सुझाव


प्रकाशित मिति : असार १६, २०७९ बिहीबार

काठमाण्डौ उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयूकेएल र ट्याङ्करको पानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ ।स्वास्थ्य कार्यालय काठमाडौंले बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत ठाउँका पानीको नमुना परीक्षण गरेको थियो ।

परीक्षणमा खानेपानी सिधै पिउनयोग्य नरहेको भेटिएको हो । पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केयूकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन दिएको छ ।नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले आज पनि अनुगमन गर्दैछ । विशेषगरी जारको पानीलाई लक्षित गरी अनुगमन गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्ड अनुसार जारको पानी वितरण भए नभएको समेत अनुगमन गरिने वाणिज्य विभागका निर्देशक हरि पङ्गेनीले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा। मतिना जोशी वैद्यका अनुसार अनुगमनका क्रममा पानीको जार पुनः प्रयोग हुँदा राम्ररी सफा नगरिएका कारण जीवाणु भएको अनुमान गरिएको छ । कतिपयले खोलाको पानी भरेर सिधै वितरण गर्न ल्याएको पनि भेटिएको उहाँले बताउनुभयो।

पिउन अयोग्य पानी बिक्री गरिरहेको पाइएकाले यस्ता व्यवसायीलाई कारबाही गर्ने पनि उहाँले बताउनु भएको छ । स्वास्थ्य विज्ञले यस अघि नै काठमाडौंमा भित्रभित्रै हैजा फैलिएको हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका थिए ।

काठमाण्डौमा गएको २ गते पहिलो पटक बागबजारका दुई दिदीबहिनीमा हैजा पुष्टि भएको थियो । त्यसपछि अहिलेसम्म उपत्यकामा १४ जनालाई हैजा पुष्टि भइसकेको छ । बेलैमा सावधानी नअपनाए अवस्था भयावह बन्ने विज्ञले चेतावनी दिएका छन् ।

केयूकेयल र ट्याङ्करले वितरण गर्ने पानीमै हैजाको जीवाणु भेटिएपछि जोखिम र चुनौती झन् बढेको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउनुहुन्छ । उपत्यकामा हैजा फैलने जोखिम उच्च रहेकाले यसको रोकथामका लागि पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पिउन तथा स्वथ्य खानेकुरा मात्रै खान डाक्टरको सुझाव छ । उहाँले जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन आग्रह गर्नु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com