३ वा १० बर्षको रोक लागेकाहरु बीचमा अमेरिका आएपनि रोक समाप्तीपछि ग्रिनकार्ड पाउन समस्या नहुने


प्रकाशित मिति : असार १५, २०७९ बुधबार

अमेरिकामा गैर कानूनी उपस्थीतिका कारण अमेरिका प्रवेशका लागि तीन वा दशबर्षको रोक लागेकाहरु उक्त अवधि समाप्त नहुँदै भिसा सहित वा भिसा विना अमेरिका प्रवेश गरेतापनि तीन वा दशबर्षको रोकको अवधि समाप्त भएपछि ग्रिनकार्ड वा भिसा पाउनमा समस्या नहुने युएससीआईएसले स्पष्ट पारेको छ । अर्थात् अमेरिकाबाट गैर कानूनी उपस्थीतिपछि देशनिकालामा परेका वा अमेरिका छाडेकाहरु बीचमा अमेरिका आएतापनि तीन वा दशबर्षको सुरुको रोकको अवधि समाप्त भएपछि भिसा वा ग्रिनकार्ड पाउन योग्य हुनसक्नेछन् ।

अमेरिकामा १८० दिनभन्दा धेरै गैरकानूनी उपस्थीति भएको खण्डमा अमेरिका पुन प्रवेशमा निश्चित समयसम्मका लागि प्रतिबन्ध लगाउने अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐनमा व्यवस्था रहेको छ । अमेरिकामा १८० दिनभन्दा धेरै र एकबर्षभन्दा कम अवधि गैरकानूनी उपस्थीति भएकाहरुलाई अमेरिका प्रवेशका लागि ३ बर्षसम्मको प्रतिबन्ध लाग्छ । त्यस्तै एकबर्षभन्दा लामो समय अमेरिकामा गैरकानूनी उपस्थीति भएकाहरुलाई अमेरिका छाडेपछि पुन अमेरिका आउनका लागि १० बर्षसम्मको प्रतिबन्ध लाग्छ ।

यो तीन वा दशबर्षको प्रतिबन्धको अवधिभित्र कुनै आप्रवासी जुनसुकै भुगोलमा भएतापनि अमेरिका प्रवेशमा रोक लगाउनका लागि उक्त तथ्यलाई नहेरिने युएससीआईएसले स्पष्ट पारेको छ । अर्थात् तीन वा दशबर्षको प्रतिबन्धको अवधिमा उक्त व्यक्ति भिसा लिएर वा नलिइकनै अमेरिका आएको भएतापनि प्रतिबन्धको नयाँ गणना सुरु गरिनेछैन ।

३ वा १० बर्षको प्रतिबन्ध लागेको व्यक्तिले उक्त अवधि समाप्त नहुँदै प्रतिबन्धबारेक कुनै छुट नलिई भिसा लिएर वा नलिएर अमेरिका प्रवेश गरेको खण्डमा त्यसको परिणाम के हुने भन्नेबारे विगतमा अध्यागमन तथा राष्ट्रियता ऐनले केही बोलेको थिएन । त्यसबारे कुनै नयाँ नियम पनि थिएन भने संघीय अदालतले पनि यसबारे कुनै निर्णय गरेको थिएन । साथै कुनै प्रशासनिक निर्णयहरु पनि आएको थिएन ।

तर हालै दुईवटा संघीय अदालतले यसबारे निर्णय सार्वजनिक गरेका छन् । ती निर्णयहरुमा अदालतले तीनबर्ष वा दशबर्षका लागि अमेरिका प्रवेशमा लगाइएको रोकको गणना कुनै अवरोध विना नै आप्रवासीले अमेरिका छाडेको वा देशनिकाला भएको मितिबाटै हुने प्रष्ट पारेको छ । युएससीआईएसले जारी गरेको नयाँ नीति तत्कालदेखि लागु हुने जनाइएको छ ।

त्यस्तै विगतमा युएससीआईएसबाट आवेदन अस्वीकृत भएका कतिपय आप्रवासीहरु फर्म आई आई २९० बी को प्रयोग गरेर मोसन वा अपिल फाइल गर्न योग्य हुने समेत प्रष्ट पारिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com