११ महिनामा ४ हजार ६५३ केजी सुन नेपाल भित्रियो


प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार

चालु आर्थिक वर्ष २०७८र०७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट नेपालमा ४ हजार ६५३ केजी सुन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा सो परिणामको सुन नेपाल भित्रिएको हो ।

पछिल्लो एघार महिनामा नेपालले ३२ अर्ब ६९ करोड ९४ लाख १८ हजार रुपैयाँ खर्चेर उक्त सुन आयात गरेको हो । आयात भएको सुनबाट सरकारले ३ अर्ब ९५ करोड ५० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७र०७८ मा नेपाल भित्रिएको भन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ ।

विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९२४ दशमलव ५ केजी सुन भित्रिएको थियो । बितेको एघार महिनामा नेपालले युएई, टर्की र स्विट्जरल्यान्डबाट सुन आयात गरेको छ । नेपालमा सबैभन्दा बढी सुन युएईबाट आउने गरेको छ । युएईबाट चालु आर्थिक वर्षको पहिलो एघार महिनामा २६ अर्ब २ करोड ५६ लाख ५७ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ ।

सोही अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र स्विट्जरल्यान्डबाट ७४ करोड ५० लाख १२ हजार रुपैयाँको सुन नेपाल आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com