एकराजको खोजीमा प्रहरी, पक्राउ परेकी मन्त्रीलाई भने रातारात बुटवल पठाइयो
प्रकाशित मिति : जेष्ठ ३१, २०७९ मंगलबार
तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेपछि पक्राउ परेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई मंगलबार राति बुटवल पठाइएको छ ।तुलसीपुरमा प्रेमी भनिएका एक व्यक्तिको परिवारमा गएर उनकी पत्नी र छोरीमाथि अभद्र व्यवहार गरेपछि प्रहरीले नियन्त्रणमा लिएर मंगलबार दिनभर जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको थियो । मंगलबार राति नै उनलाई बुटवल पठाइएको हो ।
संसद् चलिरहेको र वहालवाला मन्त्री भएका कारण प्रदेश सरकारको आग्रहमा राति ११ बजे खत्रीलाई बुटवल पठाइएको जिल्ला प्रहरी प्रमुख एस्पी सुरेश काफ्लेले बताए । उनीविरुद्ध तुलसीपुर उपमहानगरपालिका ५ बसपार्ककी २७ वर्षीया मिना भण्डारी बस्नेतले मंगलबार अभद्र व्यवहारमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि दर्ता हुन भने सकेको छैन ।जाहेरी दर्ता नहुँदै खत्रीलाई बुटवल पठाइएको भन्दै पीडितले न्याय पाउनेमा आशंका व्यक्त गरेका छन् । प्रदेश सरकारसँग समन्वय गरेर जाहेरी दर्ता गर्ने या के गर्ने भन्नेबारे निष्कर्षमा पुगिने एसपी काफ्लेले बताए । मिनाका श्रीमान् एकराज बस्नेतलाई नियन्त्रणमा लिएपछि घटनाबारे थप अनुसन्धान हुने र त्यसका आधारमा अन्य प्रक्रिया थालिने उनले बताए ।
प्रहरी एकराजको नजिक पुगिसकेको र आजै सम्पर्कमा ल्याइने उनले बताए ।खत्रीले मंगलबार बिहान बस्नेतको घरमा प्रवेश गरी नाबालिका छोरी एञ्जिलासहित आफूलाई गालीगलौज, कुटपिट, हातपात र अभद्र व्यवहार गरेको भन्दै मिनाले जाहेरी दिएकी छन् । अर्काको घरमा पसेर खत्रीले हातपात गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले खत्रीलाई नियन्त्रणमा लिएको थियो ।त्यसपछि स्थानीय बासिन्दा इलाका प्रहरी कार्यालय पुगेर खत्रीलाई कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए । नाराबाजीकाबीच इलाका प्रहरी कार्यालयबाट खत्रीलाई जिल्ला प्रहरी कार्यालय घोराही पुर्याइएको थियो ।मिनाका श्रीमान् एकराज बस्नेत घरमा नभएको बेला खत्री घरको गेट ढकढकाउन पुगेकी थिइन् ।
मिनाले गेट खोलेपछि खत्री सिधै घरभित्र प्रवेश गरी ‘मेरो एकराज खोई रु एकराज मेरो श्रीमान् हो’ भन्दै तोडफोड गर्न थालेको जाहेरीमा उल्लेख छ । एकराज र खत्रीबीच सम्बन्ध रहेको विषय गत भदौमा नै सार्वजनिक भएको थियो । फेसबुकमार्फत उनीहरुको फोटो सार्वजनिक भएपछि त्यसबेला उनीहरुले सम्बन्ध अस्वीकार गरेका थिए ।खत्री २०७६ मंसिर १४ मा भएको उपनिर्वाचनमा नेकपाबाट प्रदेश सांसद्मा निर्वाचित भएकी हुन् । दाङ ३ ख बाट एमालेबाट निर्वाचित सांसद् उत्तरकुमार वलीको कार दुर्घटनामा परी निधन भएपछि श्रीमती खत्रीले टिकट पाएकी थिइन् । सर्वोच्चको आदेशमा नेकपा विभाजनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् ।









