अमेरिकामा अतिरिक्त १७५० डलर तिर्नेलाई १ महिनामा वर्क परमिट र भिसा थप/परिवर्तन मंगलबारदेखि


प्रकाशित मिति : जेष्ठ १२, २०७९ बिहीबार

अमेरिकामा वर्क परमिट र विद्यार्थी भिसा थप्न वा बदल्न अतिरिक्त शुल्कसहित शीघ्र प्रकृयाको अन्तिम नियम  मे ३१ देखि लागु हुनेछ ।

यो नियम चरणवद्ध रुपमा लागु गर्ने युएससीआईएसको योजना रहेको छ । आर्थिक बर्ष सन् २०२२ भित्रमा एफ, जे र एम विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्दा वा अवधि थप्दा भरिने आई ५३९ आवेदन, वर्क परमिटको आवेदन आई ७६५ र रोजगारमा आधारित ग्रिनकार्ड आवेदनका लागि भरिने आई १४० आवेदनका सन्दर्भमा शीघ्र प्रकृया लागु गर्ने युएससीआईएसको योजना रहेको छ ।

अमेरिकी संसदले गतबर्षको अक्टोबरमा अब आई १४० र आई १२९ आवेदनका साथमा अब विभिन्न भिसा थप्दा वा भिसाको स्टाटस बदल्दा भरिने आई ५३९ आवेदन र वर्क परमिटको आई ७६५ आवेदनमा समेत युएससीआईएसले शीघ्र प्रकृया अर्थात् प्रिमियम प्रोसेस अपनाउन सक्ने गरी मापदण्ड पारित गरेको थियो । सोही मापदण्ड अनुशार गैर आप्रवासी भिसा थप्दा वा बदल्दा र वर्क परमिट आवेदन दिंदा अतिरिक्त शुल्क तिरेर शीघ्र प्रकृया अपनाउन सकिने नियम ल्याइएको छ ।

नयाँ नियम अनुशार रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्री अन्तरगत बहुराष्ट्यि मेनेजर, राष्ट्रिय चासोको छुट र चिकित्सकहरुका सन्दर्भमा पनि शीघ्र प्रकृया शुल्क २५ सय डलर बनाइएको छ । शीघ्र पकृया शुल्क तिरेपछि यी आवेदनहरुमा युएससीआईएसले ४५ दिनभित्र निर्णय दिइनेछ ।

त्यस्तै एफ, जे र एम भिसामा स्टाटस परिवर्तन गर्दा वा भिसा थप गर्दा १७५० डलर शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ ।

त्यस्तै ई, एच, एल, ओ, पी र आरका डिपेन्डेन्टहरुका भिसा थप्दा वा स्टाटस परिवर्तन गर्दा १७५० डलर शीघ्र प्रकृया शुल्क लिइनेछ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ ।

वर्क परमिटको आवेदनमा समेत यो सुविधा ल्याइएको छ । वर्क परमिट आवेदनमा १७५० डलर शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ ।

अहिले रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्रीका अन्तरगत आई १४० का लागि शीघ्र प्रकृया शुल्क २५ सय डलर रहेको छ । त्यस्तै कामदार भिसाका आवेदन आई १२९ का लागि पनि शीघ्र प्रकृया शुल्क २५ सय डलर कायम रहेको छ । अतिरिक्त शुल्क तिरेपछि यी आवेदनमा युएससीआईएसले १५ दिनभित्र निर्णय दिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com