एमाले अध्यक्ष ओलीलाई कोरोना पुष्टि


प्रकाशित मिति : माघ ९, २०७८ आईतबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोराना सङ्क्रमण पुष्टि भएको छ । एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार लक्षण देखिएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई सङ्क्रमण भएको र उहाँ हाल बालकोटस्थित निवासमा आइसोलेशनमा रहनुभएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनलगायत विषयमा आज अध्यक्ष ओलीले पत्रकार सम्मेलन आयोजना गर्नुभएकामा कार्यक्रम स्थगन भएको छ भने पार्टीको धारणा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिने जनाइएको छ ।

पछिल्लो समय  काठमाडौं उपत्यकामा मात्र कोरोनाका सक्रिय संक्रमितको संख्या ४७ हजार २४ जना पुगेका छन् । हिजो मात्र  ५ हजार ३०६ जनामा कोरोना पुष्टि भएसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार २४ जना पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ हजार ७६२ जना, ललितपुरमा १ हजार ११० जना र भक्तपुरमा ४ सय ३४ जना गरी ५ हजार ३०६ जना संक्रमित भेटिएका हुन् ।

कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै काठमाडौं उपत्यका पुनः कोरोनाको हटस्पट बनेको छ । पछिल्लो समयमा दिनानुदिन संक्रमित बढिरहेको अवस्था शनिबार मात्रै पनि मुलुकभर थप १० हजार २५४ जनामा कोरोना पुष्टि भएको छ, भने १६ संक्रमितको मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com