पाथीभरा क्षेत्रमा हिमपात,तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या


प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार

ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो ।

हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चार जना तीर्थ यात्रीसँगै लिएर जाँदैछु । हिमपात हुन रोकिएको छैन । हिउँले बाटो पूरै छोपिएको छ । बाटो अनुमान गर्दै जानु पर्नेछ ।”

पाथीभरामा जानुभन्दा पनि फर्किन समस्या हुने गरेको उहाँले बताउनुभयो । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्दछ ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुने गरेको उहाँले बताउनुभयो ।

पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात हुन सुरु भएको हो । सोदिन ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको क्षेत्र विकास समितिले जनाएको छ ।

समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा तीन हजार ४०० मिटर उचाइ क्षेत्रका बस्तीमा बिहीबारदेखि हिमपात हुन थालेको छ ।

हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताउनुभयो । हिमपातले जनजीवन प्रभावित हुनुका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले जानकारीदिनुभयो ।

हिमाली क्षेत्रका प्रमुख पुख्र्यौली पेसाका रुपमा पशुपालन गर्दै आएको छ । तर हिमपातको समय पशु जोगाउने मुस्किल पर्ने शेर्पाले बताउनुभयो । सबैभन्दा याक चौँरीको बाछाबाछीलाई हिमपातको समयमा जोगाउने समस्या हुने उहाँले बताउनुभयो ।

यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङ्चुगोला, भले र ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ ।

मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङ बस्तीमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताउनुभयो । हिमपात भएसँगै यता सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ ।

अध्यधिक जाडोेले जनजीवन प्रभावितन भएको छ । जिल्लामा पहिलो पटक गतपुस १३ र १४ गते हिमपात भएको थियो । दोस्रो पटक पुस २९मा हिमापात भएको थियो । रासस/ फाइल फोटो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com