भिजिटर भिसा थपको आवेदन दिएका तर निर्णय अगाडि अमेरिका छाडेकालाई सीबीपीको यस्तो सुझाव


प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार

कोरोना महामारीका सुरुको चरणमा अमेरिकामा भिजिटर भिसामा आएका धेरैले समयमै फर्कन नसक्दा समस्याको सामना गर्नुपरेको थियो । अन्तर्राष्ट्रिय उडानहरु रद्द भएकाले उनीहरुले समयमा नै अमेरिका छाड्न नसक्दा अन्यौलपूर्ण अवस्था उत्पन्न भएको थियो ।

उडानहरु रद्द भएका कारण र कोरोना महामारी सम्बन्धित प्रतिबन्धहरुका कारण अमेरिकामा भिजिटर भिसामा आएकाहरु समयमै स्वदेश फर्कन नसक्ने अवस्था आएको थियो । यो अवस्थामा अमेरिकामा भिजिटर भिसामा रहेकाहरुले बाध्य भएर भिसा थपका लागि युएससीआईएस समक्ष आवेदन दिनु परेको थियो ।

तर भिसा थपका लागि दिइएका आवेदनहरुमा युएससीआईएसले निर्णय दिन ढिलो गरेका कारण कैयन भिसा वाहकहरुले निर्णय आउनुभन्दा अगाडि नै अमेरिका छाड्नुपरेको थियो । अमेरिकामा आई ९४ मा उल्लेख भएको अवधिभन्दा बढी बसेको खण्डमा स्वत भिसा रद्द हुने प्रावधान रहेकाले भिसा थपका लागि दिइएको निर्णय नआउँदै अमेरिका छाड्दा उनीहरुको भिसा रद्द हुने हो कि भन्ने चिन्ता आवेदकमा देखिएको छ ।

अमेरिकी सरकारको विदेश मामिला म्यानुअलले यसबारे स्पष्ट पारेको छ । यदि गैर आप्रवासी भिसा वाहक आई ९४ को अवधि समाप्त भएपछि अमेरिकाबाट फर्केको छ तर उसले अमेरिकामा रहँदा आई ९४ को अवधि समाप्त हुनु अगाडि नै भिसा थप वा परिवर्तनका लागि आवेदन दिएको छ भने उसको भिसा रद्द हुनबाट संरक्षण प्राप्त हुन्छ । अर्थात् समयमै र व्यवस्थीत रुपमा फाइल गरिएका भिसा थप वा परिवर्तनका आवेदनको सन्दर्भमा निर्णय नआउँदै अमेरिका छाड्दैमा उनीहरुको भिसा रद्द हुँदैन ।

युएससीआईएस र अमेरिकी सरकारको विदेश मामिला म्यानुअलमा यसबारे प्रष्ट पारिएपनि युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन यसबारे स्पष्ट छ कि छैन भन्नेबारेमा पनि प्रश्न उठेको छ । एयरपोर्टमा आइसकेपछि सीबीपीले फर्काइदिने पो हो कि भन्ने चिन्ता भिसावाहकमा रहेको छ । यस सन्दर्भमा सीबीपीले भिजिटर भिसा थपका लागि आवेदन दिएका तर निर्णय अगाडि नै फर्किएकाहरुलाई विशेष सुझाव दिएको छ ।

अध्यागमन तथा राष्ट्रियता ऐनको २२२ जी हरेकका सन्दर्भमा फरक फरक तरिकाले लागु हुनसक्ने सीबीपीको भनाई छ । यो बुंदामा अमेरिकामा बस्नका लागि स्वीकृत गरिएको अवधिका सन्दर्भमा व्याख्या गरिएको छ । यसमा भएको व्यवस्थाले सीबीपीले सन्दर्भका रुपमा लिन सक्छ तर लिनैपर्ने बाध्यता भने छैन । त्यसैले सीबीपीले भिजिटर भिसा थपका लागि आवेदन दिएका तर निर्णय अगाडि नै फर्किएकाहरुलाई आई ९४ को अवधि समाप्त हुनु अगाडि समयमै भिसा थप वा परिवर्तनका लागि आवेदन दिएको रसिद बोक्न सुझाव दिएको छ ।

भिसाका सन्दर्भमा सीबीपीले दिएको यो सुझावले भिसा थपका लागि आवेदन दिएका तर निर्णय अगाडि नै फर्किएकाहरुलाई पुन अमेरिका आउँदा सहज बनाउने देखिन्छ । किनभने यस अगाडि भिसा थपका लागि आवेदन दिएका तर निर्णय अगाडि नै फर्किएका केहीलाई सीबीपी अधिकारीले भिसा थपको आवेदन त्यागेर फर्केको र बायोमेट्रिक अप्वाइन्टमेन्टमा उपस्थीत नभएको भन्दै विमानस्थलमा भिसा रद्द गरेर फिर्ता पठाएका थिए ।

अहिले अमेरिकन इमिग्रेशन लयर्स एसोसिएसन न्युयोर्क च्याप्टर र सीबीपीबीचको छलफलमा सीबीपीले आवेदकलाई समयमै भिसा थप वा परिवर्तनका लागि आवेदन दिएको रसिद बोक्न सुझाव दिएकाले सीबीपी अधिकारीले विमानस्थलमा मागेको खण्डमा उक्त रसिद देखाउनुपर्नेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com