अमेरिकी पासपोर्टको शुल्कबृद्धि, सरकारलाई थप ३१८ मिलियन डलर आम्दानी हुने


प्रकाशित मिति : पुस ११, २०७८ आईतबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिसेम्बर २७ देखि लागु हुनेगरी पासपोर्टको आवेदन शुल्क बृद्धि गरेको छ । अहिलेसम्म पहिलोपटक पासपोर्टका लागि आवेदन दिने आवेदकले ११० डलर आवेदन शुल्क र ३५ डलर आवेदन केन्द्रले आवेदन दिएको शुल्क गरी १४५ डलर तिर्दै आएकोमा डिसेम्बर २७ पछि यो शुल्क १६५ डलर हुनेछ ।

यो शुल्कबृद्धि समग्रमा १८ प्रतिशत रहेको जनाइएको छ । सुरक्षा शुल्क भने ३३ दशमलव ३३ प्रतिशत बृद्धि भएको छ ।पासपोर्ट सुरक्षा शुल्कका नाममा उक्त शुल्कबृद्धि गरिएको हो । अहिलेसम्म यो शुल्क ६० डलरमात्र रहेकोमा ८० डलर बनाइएको छ ।

पासपोर्ट आवेदन स्वीकार गर्ने केन्द्र वा एजेन्सीले छुट्टै ३५ डलर समेत लिने भएकाले पहिलोपटक पासपोर्ट आवेदन दिने बयस्कले १६५ डलर, पासपोर्ट बुक र कार्ड एकसाथ लिनेले १९५ डलर तिनुपर्नेछ ।

पासपोर्ट नविकरणका लागि पनि अहिलेसम्म ११० डलर रहेकोमा डिसेम्बर २७ पछि १३० डलर तिर्नुपर्नेछ । त्यस्तै बालबालिकाहरुका लागि पासपोर्ट आवेदन दिंदा ८० डलरमात्र लाग्दै आएकोमा अब १०० डलर शुल्क तिर्नुपर्नेछ । ३५ डलर पासपोर्ट आवेदन स्वीकार गर्ने केन्द्र वा एजेन्सीले लिने भएकाले कुल १३५ डलर हुनेछ ।

शुल्कबृद्धिबाट बार्षिक रुपमा सरकारलाई थप ३१८ मिलियन डलर आम्दानी हुने अपेक्षा गरिएको छ । आर्थिक बर्ष २०२२ मा झण्डै १६ मिलियन पासपोर्ट जारी हुने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com