अमेरिकी सिमा क्षेत्रमा आएर एसाइलम खोज्नेलाई मेक्सिको फिर्ता पठाउने ट्रम्पकालिन नीति लागु हुने


प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार

अदालतको आदेशपछि अमेरिकी सिमा क्षेत्रमा आएर एसाइलम खोज्नेलाई मेक्सिको फिर्ता पठाउने ट्रम्पकालिन नीति बाइडेन प्रशासनले पनि बाध्य भएर लागु गर्ने भएको छ । बाइडेन प्रशासनले बिहिबार ट्रम्पकालिन उक्त नीति कार्यान्वयन गर्ने योजना सार्वजनिक गरेको छ । यद्यपी बाइडेन प्रशासनले अदालतको आदेशविरुद्ध पुनरावेदन गर्ने समेत जनाएको छ ।

मेक्सिकोसँगको वार्ता र सहमतिपछि बाइडेन प्रशासनले अब विना भिसा अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम खोज्ने निश्चित गैर नागरिक आप्रवासीहरुलाई अदालती प्रकृयासम्मका लागि प्रतिक्षा गर्न मेक्सिको फिर्ता पठाउने भएको छ । ट्रम्प प्रशासनका पालामा यो नीति अन्तरगत झण्डै ७० हजार आप्रवासीहरुलाई अदालती प्रकृयासम्म प्रतिक्षा गर्नका लागि मेक्सिको फिर्ता पठाइएको थियो ।

बाइडेन प्रशासनले बाध्य भएर यो नीति लागु गर्ने भएतापनि एसाइलम खोज्नेहरुलाई मेक्सिकोमा प्रतिक्षा गरुन्जेल आवासीय सुविधाका लागि समन्वयमा सहयोग गर्ने जनाएको छ । सुरक्षित आवासको सुनिश्चित गर्न डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटसँग मिलेर काम गर्ने जनाएको छ ।

त्यस्तै अमेरिकाले अदालती सुनुवाईका लागि मेक्सिकोमा प्रतिक्षा गरेर अमेरिका आउने आप्रवासीहरुलाई पोर्ट अफ इन्ट्रीबाट यातायातको सुविधा समेत उपलब्ध गराउने जनाएको छ । यो नीति अन्तरगत बाइडेन प्रशासनले एसाइलम खोज्नेलाई मानवीय व्यवहार गरेर मेक्सिकोमा रहुन्जेलपनि सुरक्षित आवासका लागि सहयोग गर्ने बताएपनि अमेरिका आउनमा रोक लगाउने सन्दर्भमा पनि नीतिको कार्यान्वयन ट्रम्पकै पालामा जस्तो हुनेछ ।

विना भिसा सिमाक्षेत्रबाट आएर अमेरिकामा एसाइलम दावी गर्नेहरु सिधै अमेरिका आएर अध्यागमन अदालतको मुद्दाको प्रतिक्षा गर्न पाउनेछैनन् । उनीहरुले अमेरिकामो लामो अध्यागमन प्रकृया मेक्सिकोमा नै बसेर प्रतिक्षा गर्नुपर्नेछ । गत अगस्तमा सर्वोच्च अदालतले टेक्सास र मिजौरीको अदालतको आदेशलाई नै समर्थन गर्दै मेक्सिको फिर्ता पठाउने नीति कार्यान्वयन गर्न बाइडेन प्रशासनलाई आदेश दिएको थियो ।

बाइडेन प्रशासनले यो नीति जो बाइडेनले राष्ट्रपतिमा सपथ लिएको भोलिपल्ट नै खारेज गरेको थियो । तर अदालतको आदेशका कारण ट्रम्पकालिन नीति हटाउने बाइडेन प्रशासनको कदम असफल भएको छ । एसाइलमका मुद्दाको ६ महिनाभित्र अदालती सुनुवाई गर्नेगरी काम गर्ने र तीब्रता दिनका लागि सिमाक्षेत्रमा अस्थायी अदालत संचालन गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

मेक्सिकोले बृद्धबृद्धाहरु, स्वास्थ्य समस्या भएकाहरु र लैंगिक अल्पसंख्यक लगायतलाई यो कार्यक्रममा छुट दिइनुपर्ने बताउदै आएको छ । सीबीपीका एजेन्टहरूले अब सक्रिय रूपमा सबै आप्रवासीहरूलाई उनीहरूलाई मेक्सिको फर्कने डर भए नभएको सोध्नेछन् । साथै क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गर्नका लागि ट्रम्प प्रशासनको पालाको भन्दा नरम मापदण्ड बनाइनेछ ।

एसाइलम दावी गर्नेहरुलाई वकिल लिने समय उपलब्ध गराइनेछ भने निशुल्क फोनकल लगायतका सुविधा पनि उपलब्ध गराइनेछ । अमेरिकाले मेक्सिको फिर्ता पठाइने एमपीपी नीति अन्तरगत दर्ता हुनेलाई निशुल्क कोरोनाबिरुद्धको भ्याक्सिन समेत उपलब्ध गराउने भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com