भिसामा जालसाजी गर्ने किशोर कुमारलाई अमेरिकामा १५ बर्ष जेल र ५ लाख ३३ हजार डलर जरिवाना


प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार

कामदार भिसामा जालसाजी गरेको अभियोग प्रमाणित भएपछि अमेरिकाको क्यालिफोर्निया निवासी किशोर कुमार काभुरुलाई १५ बर्षको जेल सजाय सुनाइएको छ । साथै उनलाई अदालतले ५ लाख ३३ हजार डलर जरिवानाको समेत सजाय सुनाएको छ ।

काभुरु चारवटा फरक फरक स्टाफिङ कम्पनीका संचालक, सीईओ र मालिक रहेको अभियोजनकर्ताहरुले जनाएका छन् । ती कम्पनीका तर्फबाट विदेशमा रहेका दक्ष कामदारहरुलाई एचवान बी भिसा प्राप्त गर्न र प्रविधि कम्पनीहरुमा जागिर लगाइदिने भन्दै जालसाजी गरेको जनाइएको छ ।

काभुरुले झण्डै एकसयवटा भन्दा धेरै एचवान बी भिसाका आवेदनहरु पेश गरेको स्वीकार गरेका छन् । ती आवेदनशरुमा जागिर उपलब्ध गरेको झुठो विवरण पेश गरिएको र ती कम्पनीहरुमा कामदारहरु राखिने भन्दै झुठो कागजातहरु पेश गरिएको जनाइएको छ ।

आवेदन तयार र पेश गरेबापत काम गर्न चाहने कामदारहरुबाट आफूले हजारौं डलर लिएको समेत उनले स्वीकार गरेका छन् । एचवान बी भिसामा अमेरिकामा आउने कामदारबाट आवेदन तयार गरे वापत र आवेदन पेश गरेबापत रकम लिनु गैरकानूनी हो । साथै उनले एचवान बी भिसा प्राप्त गर्नेहरुलाई उनीहरुका लागि उचित काम नखोज्दासम्म तलब नदिने बताएको समेत जनाइएको छ ।

उनले भिसामा जालसाजी गरेर झण्डै १५ लाख डलर कमाएको जनाइएको छ । उनले आगामी फरबरी १० बाट जेल सजाय सुरु गर्ने भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com