आजदेखि देशभर कोरोनाविरुद्ध भेरोसेल खोपको पहिलो डोज, दोश्रो डोज कार्तिक ४ बाट


प्रकाशित मिति : आश्विन ३, २०७८ आईतबार

आजदेखि नेपालका  विभिन्न जिल्लामा ११ दिनसम्म कोरोना भाइरसविरूद्धको खोप भेरोसेलको पहिलो डोज लगाउन सुरु गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार आजदेखि ११ दिनसम्म अर्थात् असोज १४ गतेसम्म पहिलोडोज लगाइनेछ भने कात्तिक ४ देखि १४ गतेसम्म भेरोसेलको दोस्रो डोज लगाइने छ ।

शुक्रबार मात्रै सरकारले चीनबाट ४४ लाख डोज भेरोसेल खोप ल्याएको थियो । यहि खोप विभिन्न उमेर समूहका व्यक्तिलाई लगाइदैछ ।

१० जिल्लामा १८ बर्षमाथिकालाई

आजदेखि हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइनेछ । जसमा सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवा रहेका छन् ।

चितवन र काभ्रेमा ३५ बर्षमाथिकालाई

बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ । दुवै जिल्लामा १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप पाउनेछन ।

काठमाडौं लगायतका ७ जिल्लामा ४० बर्षमाथिकालाई

काठमाडौं, ललितपुर, भक्तपुरसँगै रामेछाप, मकवानपुर, सर्लाही र अछाममा ४० वर्ष माथिका नागरिकलाई पनि कोरोनाविरूद्धको खोप लगाइने भएको छ । खोप लगाउन छुटेका १८ बर्षमाथिका विद्यार्थीलाई पनि दिइनेछ ।

अन्य ५८ जिल्लामा ४५ बर्षमाथिकालाई

यससँगै विभिन्न ५८ जिल्लामा ४५ वर्षभन्दा माथिका नागरिकलाई पनि खोप लगाइने भएको छ । यससँगै विद्यार्थीले पनि खोप लगाउन पाउनेछन् ।

यसअगाडि छुटेका अग्रपंक्तिमा खटिनेहरु, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई समेत खोप दिइनेछ । कोभिशिल्ड वा आष्ट्राजेनेकाको पहिलोमात्रा लगाएकाहरुलाई दोश्रोमात्रा भेरोसेल नलगाउन सचेत गराइएको छ ।

काठमाडौं जिल्लामा आजदेखि ३ दिन दोश्रोमात्रा कहाँ कहाँ ?

काठमाडौं जिल्लामा असोज ४ गते (आज) देखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्‍म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइनेछ । काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ ।

वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिनेछ ।यस्तै कीर्तिपुर नगरपालकिामा १० ठाउँमा दोस्रो डोज लगाइदैछ भने चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ ।

काठमाडौंको नागार्जुन नगरपालिकाको १० ठाउँ, तार्केश्वर नगरपालिकाको ११ ठाउँ, दक्षिणकाली नगरपालिकाको ९ ठाउँ, बुढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ, टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको ९ ठाउँ, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा भेरोसेल दोस्रो डोज खोप लगाउन लागिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल बानेश्‍वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ ।

 

भेरोसेलबारे जान्नैपर्ने कुराहरु

मे ६ मा विश्व स्वास्थ्य संगठनले यो भ्याक्सिनलाई १८ बर्षभन्दा माथिकाहरुलाई  प्रयोगको अनुमति दिएको हो ।

गर्भवती महिलाहरुमा भ्याक्सिनको प्रभावकारिता वा जोखिमबारे प्रयाप्त तथ्यांक अहिलेसम्म उपलब्ध छैन । तर यो भ्याक्सिन अन्य कैयन भ्याक्सिनमा नियमित प्रयोग हुने प्रणालीबाट बनाइएको र त्यसको प्रोफाइल गर्भवती महिलाहरु लगायतका लागि समेत सुरक्षित भएकाले गर्भवती महिलाले यो भ्याक्सिन गर्भवती महिलाहरुमा पनि प्रभावकारी र सुरक्षित हुने अपेक्षा छ ।

विश्व स्वास्थ्य संगठनले पनि अन्तरिम रुपमा यो भ्याक्सिन गर्भवती महिलाहरुलाई पनि लगाउन सिफारिस गरेको छ । जोखिमको तुलनामा गर्भवती महिलालाई भ्याक्सिन लगाउँदा फाइदा धेरै हुने विश्व स्वास्थ्य संगठनको निष्कर्ष रहेको छ । विश्व स्वास्थ्य संगठनले भ्याक्सिन लगाउनु अगाडि गर्भवती भए नभएको परीक्षण गर्न भने सिफारिस गरेको छैन ।

विगतमा कोरोना संक्रमण भएकाले पनि यो भ्याक्सिन लगाउन सक्छन् । सामान्यतया कोरोना संक्रमणभएको ६ महिनाभित्र अर्को पटक संक्रमण हुने अवस्था असाधारण भएकाले संक्रमण भएको ६ महिनापछिमात्र भ्याक्सिन लगाउँदा उपयुक्त हुने सुझाव छ । तर जहाँ कोरोनाका नयाँ प्रकारहरु फैलिरहेका छन्, त्यहाँ भने ६ महिना नकुर्न सुझाव दिइएको छ ।

यो भ्याक्सिनको प्रभावकारिता अन्य बयस्क महिलाहरुजस्तै स्तनपान गराउने महिलाहरुमा पनि उस्तै हुने अपेक्षा गरिएको छ । विश्व स्वास्थ्य संगठनले अन्य महिलाहरुजस्तै स्तनपान गराउने महिलालाई पनि भ्याक्सिन लगाउन सिफारिस गरेको छ । भ्याक्सिन लगाएपनि स्तनपान रोक्न विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छैन ।

एचआईभी संक्रमितहरु कोरोनाबाट सिकिस्त हुने उच्च जोखिममा हुन्छन् । एचआईभी संक्रमितहरु परीक्षणमा सहभागी नभएपनि यो भ्याक्सिन एचआईभी संक्रमितहरुलाई प्राथमिकताका साथ दिन सिफारिस गरिएको छ ।

विगतमा खानेकुरा, भ्याक्सिन वा अन्य कुनै पनि प्रकारको एलर्जीको इतिहास भएकाहरुले यो भ्याक्सिन लगाउनु हुँदैन । ३८ दशमलव ५ डिग्री सेल्सियस भन्दा धेरै शरीरको तापक्रम भएकाहरुलाई पनि तत्काल यो भ्याक्सिन नलगाउन सुझाव दिइएको छ । उनीहरुले ज्वरो निको भएपछि भने भ्याक्सिन लगाउन सक्नेछन् ।

यो भ्याक्सिन दुईडोज लगाउनुपर्छ । हरेक डोज शुन्य दशमलव ५ मिलिलिटरको हुन्छ । पहिलो डोज लगाएको तीनदेखि चार हप्ताभित्र दोश्रो डोज लगाउन विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । यदि कसैले पहिलो डोज लगाएको तीनसाता अगाडि नै दोश्रो डोज लगाएको छ भने पनि दोहोराएर लगाउनु नपर्ने विश्व स्वास्थ्य संगठनको भनाई छ । चारहप्ता भन्दा ढिलो भएमा पनि यथाशीघ्र लगाउन सुझाव दिइएको छ । तर सबैलाई दुई डोज लगाउन सिफारिस गरिएको छ ।

१८ बर्षदेखि ६० बर्षसम्मका व्यक्तिलाई यो भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको तथ्यांक रहेको छ । ६० बर्षमाथिका व्यक्ति परीक्षणमा कममात्र सहभागी भएकाले प्रयाप्त तथ्यांक छैन । तर कम उमेरका र बढी उमेरकाहरुमा सुरक्षाको अवस्थाबारे कुनै फरक नभएकाले यो भ्याक्सिन ६० बर्षमाथिकाहरुलाई पनि दिइएको छ । ६० बर्षमाथिकाहरुलाई भ्याक्सिन दिएका मुलुकहरुलाई उनीहरुको सुरक्षा अवस्थाको सकृय निगरानी राख्न सुझाव दिइएको छ ।

यो भ्याक्सिन २१ दिनको अन्तरालमा २ डोज लगाउँदा ७९ प्रतिशत प्रभावकारी देखिएको छ । दोश्रो डोज लगाएको १४ दिनपछि लक्षणसहितको संक्रमण रोक्न यो ७९ प्रतिशत प्रभावकारी देखिएको हो । त्यस्तै अस्पताल भर्ना हुनेगरी सिकिस्त हुनबाट रोक्न पनि ७९ प्रतिशत प्रभावकारी रहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com