हिंसाविरुद्धको अभियानमा तीज गीत ‘बुहारी’


प्रकाशित मिति : श्रावण १२, २०७९ बिहीबार

– अस्मिता खड्का

तीज नजिकिदै गर्दा तीजका गीत र भिडियोहरु आउन सुरु भएका छन् । कलाकारहरुले आफूलाई मन परेकोे विषयवस्तुमा आधारित रहेर तीज गीत हरेक बर्ष बजारमा ल्याउने गर्दछन् । तर, यसपाली कोरोनाको कारण महामारी अगाडिका वर्षहरुमा जस्तै तीज गीतको बाढी नआउने देखिन्छ ।

बजारमा आएका तीज गीतहरुमध्ये ‘बुहारी ४’ चर्चायोग्य र मनछुने खालको छ । गम्भीर प्रकृतिका घटना पर्दामा उतार्न त्यत्ति सजिलो छैन तर लोक गायक मानसिंह खड्का र टिका सानुको यो प्रयास प्रशंसनीय रहेको छ ।

महिलामाथि हुने गम्भीर प्रकृतिका घटनाहरुमा मौन समाज र मुकदर्शक शासकका बारेमा गीतले वास्तविकता उजागर गरेको छ ।

‘हे भगवान हाम्रो देशमा महिला राष्ट्रपति छन्, तर पनि महिलालाई पिडा कति छन् ।’

यो गीतको एउटा अंश मात्र हो । गीत सुनेर भन्दा भिडियो समेत हेर्दा घटनाहरु बुझ्न र त्यसले पारेको असरबारे धारणा बनाउन सजिलो हुन्छ । गीतले सुरुदेखि अन्तिमसम्म दर्शकलाई बाँध्नसक्छ ।

हिंसा, न्यायव्यवस्था, समाजको सोँच र पीडकको संरक्षणलाई चित्रण गरिएको यो तीज गीतमा वरिष्ठ कलाकार सुरविर पण्डित र रमा थपलियलगायतका कलाकारको अभिनय उत्कृष्ट रहेको छ । सार्वजनिक हुनासाथ यो तीज गीत युट्युवमा लोकप्रिय भयो । यसको अर्थ धैरे मानिसहरु यो गीतसँग जोडिएका छन् ।

महिलामाथि हुने हिंसालाई तीज गीत मार्फत पर्दामा उतारिएको यो विषयबस्तु हेर्दा धेरै मानिसलाई हिंसाविरुद्ध बोल्न प्रेरित गर्दछ ।

मानिसका आ—आफ्नै सोच, इच्छा, चाहना, चिन्तन र दृष्टिकोण हुन्छन् । त्यही अनुसार मानिसहरु आफुलाई प्रस्तुत गर्दछन् र अगाडि बढेका हुन्छन् । कोही आफ्नो कुरा समाजमा सुनाउन चाहन्छन् । कोही आफैमा सिमित राख्छन् । तर, यो गीतले तपाईको मन मस्तिष्कमा अनगिन्ती कुराहरु सोंच्न बाध्य बनाउँछ ।

तीजको मौलिकताको त कुरै छोडौँ, सामाजिक मूल्य मान्यता नाघेर बजारमा आउने धेरै तीज गीत परिवारसँगै बसेर सुन्न र हेर्न लायक नभएपनि बजारमा धेरै नै हिट हुने गर्दछन् । तर अहिले आएर सामाजिक विषयबस्तु र सन्देशमूलक गीतहरुले पनि बजारमा राम्रो प्रभाव पार्न सफल हुनु सकारात्मक कुरा हो ।

समाज रुपान्तरणमा यस्ता सन्देशमूलक गीतहरुले ठूलो भूमिका खेल्दछन् । मानिसलाई नजानिदो ढंगले परिवर्तन हुन र सोच्न बाध्य बनाउँछन् । हिंसा विरुद्ध आवाज उठाउन प्रेरित गर्दछन् । कसैले पढेर बुझेका हुन्छन्, कसैले परेर त, कसैले देखेर बुझ्दछन् । गीत संगीत मानिसलाई जागरुक गराउने एउटा शसक्त हरियार हो ।

लेखेर,बोलेर भन्दा गीत संगीतको माध्यमबाट धेरैभन्दा धेरै मानिसहरुलाई सामाजिक विषयहरु बुझाउन सहज हुन्छ । मानिसको ध्यान केन्द्रित गर्ने र बाँधी राख्न सक्ने बलियो माध्यम गीत संगीत हो ।

हेर्दा सजिलो लाग्छ । तर,विषयबस्तुमा भिजेर त्यसलाई पर्दामा उत्रानु सामान्य कुरा होइन । सबैमा यो कला हुँदैन । त्यसैले भनिएको होला कलाकार समाजका ऐना हुन ।

धेरै कलाकारहरुले सामाजिक मुद्धा र राजनीतिक विषयबस्तुमा आधारित गीतमा रुचि राखेको पाइदैन । माया पिरतीमै रमाएको देखिन्छ । त्यो उनीहरुको रुची र अधिकारको कुरा हो ।

तर, साँच्चै समाजको स्तरउन्नती गर्ने र देशको विकास गर्ने हो भने यी दुईवटा विषयमा कलाकारले धेरै योगदान पुर्याउन सक्छन्, गीतसंगीत र आफ्नो कला मार्फत ।

त्यसैले समाज र राजनीतिमा हुने विकृति विसंगतिविरुद्ध आवाज उठाउन प्रेरित गर्ने गीतसंगीतलाई माया गर्न सक्नुपर्दछ । मानिसलाई लाग्न सक्छ, गीतले समाज परिवर्तन हुन्छ ?

गीतले परिवर्तन गर्ने होइन, परिवर्तन समाजकै व्यक्ति मिलेर गर्ने हो । तर गीतले सामाजिक चेतना भर्नसक्छ ।

मौनताका कारण छोरी चेली दाईजोको कारण ज्यूदै जलाईएका छन् । बलात्कृत भएका छन् । एसिड आक्रमणमा परेका छन् । कसैको साथ नपाएका पीडितका आमाबुबा आत्महत्या गर्नु बाध्य छन् । तर अपराधी खुल्ला साँढे जस्तै घुमिरहेका हुन्छन् ।

त्यसैले सामाजिक हिंसाका विरुद्ध आ—आफ्नो ठाउँबाट बोल्नसकेसमाज परिवर्तन गर्न सकिन्छ । यो गीतले बोकेको सन्देश पनि त्यही हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com