गर्भवतीलाई दही चिउरा: आयातित संस्कारले विस्थापित हुँदै नेपाली मौलिकता


प्रकाशित मिति : श्रावण ८, २०७९ आईतबार

grayscale photo of woman in black coat

– अस्मिता खड्का

‘धौँ बजी’ अर्थात् दही चिउरा ! नेवार समुदायमा गर्भवती महिलाहरुलाई गर्भ बसेको ९ महिना टेकेपछि दही चिउरा खुवाउने र सगुन दिने परम्परा छ । गर्भवती महिलाको आत्मविश्वास बढाउन मिठो खुवाउने, गर्भको बच्चाको कुशलताको कामना गर्ने र सुस्वास्थ्यको कामना गर्ने संस्कार हो, दही चिउरा खुवाउने संस्कार । तर यो संस्कारलाई विस्तारै अन्य आयातित संस्कारहरुले विस्थापित गर्दै गएको छ ।

‘मैले जान्दादेखि गर्भवती महिलाहरुलाई ‘धौँ बजि’खुवाउने चलन छ । मैले पनि खाएँ, छोरी र नन्दलाई पनि खुवाएँ । पेटमा बच्चा हुँदा के के खान मन लाग्छ, घरमा सासुसँग भन्न नसकेपनि आमालाई भन्न सजिलो । एकदिन मिठो र मनले खोजेको खान पाइने भयो ।’  भक्तपुरकी नारायणीदेवी कर्माचार्य भन्छिन् ।

६७ बर्षकी नारायणीदेवीका दुई छोरा र दुई छोरी छन् । १८ वर्षको उमेरमा मागी विवाह भएको थियो उनको ।

१९ वर्षमा पहिलो सन्तान जन्माएकी नारायणीदेवी सम्झिन्छन् ‘मेरो आमाले मलाई बच्चा पेटमा भएको ९ महिना टेकेपछि दही चिउरा खुवाउन र सगुनदिन आउँदा धेरै खुशी लागेको थियो । आमाले सगुनमा योमरी, बारा, मासु, फलफुल, अण्डा, माछा, अचार, बारा, गेडागुडी र दहीचिउरा पुरै घर परिबारलाई पुग्ने गरी लिएर आउनुभएको थियो ।’

गर्भवती महिलाको राम्रो हेरचाह र खानपानमा ध्यान नदिने त्यो बेलामा यो परम्परा स्वास्थ्यका हिसाबले पनि उपयुक्त मान्नसकिन्छ । विवाह भएपछि सबै महिलाले बच्चा जन्माउने सामाजिक मान्यता रहेको समयमा महिलाले घाँस काट्दा काट्दै बारीमै बच्चा जन्माउने गरेका उदाहरण समेत छन् ।

गर्भावस्थामा महिलाहरु मानसिक र शारिरीक रुपमा कमजोर पनि हुन्छन् । यस्तो बेलामा गर्भवतीको विशेष ध्यान राख्नु पर्छ भन्ने सोचको विकास आम रुपमा नभएका बेला दही चिउरा संस्कृतिले गर्भवतीको मनोवल बढाउने भएकाले यसले सकारात्मक प्रभाव पार्दै आएको छ ।

परम्पराको नाममा भएपनि गर्भवती महिलाले पोषिलो खानेकुरा पाउने र दही चिउरासँग दिने सगुन त पञ्चतत्वसँग जोडिएको शिक्षक अनिल नकुलको भनाई छ । उनी भन्छन् यसको बैज्ञानिक र व्यवहारिक कुरालाई राम्रोसँग अध्यायन गर्न जरुरी छ । सबै परम्परा खराब छैनन् । पोषिलो खानुपर्छ भनेर पुरानो पुस्ताले सिकाएको हो ।’

विदेशीको देखासिकीमात्र गर्नुभन्दा हाम्रो समाज र समुदायमा रहेका राम्रा कुराहरु आफ्नो देशको संस्कार र संस्कृतिका रुपमा सबैले मनाउन सकिने अनिल नकुलको भनाई छ ।

नेवारी समुदायमा गर्भवती छोरीसँगै ज्वाईलाई पनि पुजा गर्ने, टिका लगाउने र सगुनदिने गरिन्छ ।

नारायणीदेवी भन्छिन् ‘छोरी ज्वाई एकै ठाउँमा राखेर पुजा गर्ने, टिका लगाउने र सगुन दिने चलन छ । माइतीमा आमा, सानीमा आमा,भाउजु वा आफन्त जसले खुवाएपनि हुन्छ ।’

तर, कोही खान नपाउनेहरु पनि छन् । ९ महिना टेकेपछिमात्र दही चिउरा खुवाउने चलन भएकाले ८ महिनामा बच्चा जन्ममाउनेहरुले खान पाउँदैनन् । तर, कुनै कुनै समुदायमा महिला गर्भवती भएको ७ महिनापछि दही चिउरा खुवाउने प्रचलन पनि रहेको छ ।

‘पोषिलो खाना अघिपछि पनि दिनुपर्छ । तर दही चिउराको आफ्नै महत्व छ । मानिसहरु देखासिखी गर्दा विधि नै पुर्याउँदैनन् । विदेशीको नक्कल गर्दछन् । तर आफ्नो देशको गर्दैनन् ।’-  नारायणीदेवी भन्छिन् ।

नेपाली संस्कृति भित्रिनुमा इन्टरनेट र टेलिभिजनको भूमिका रहेको नारायणीदेवीको भनाई छ ।

brown and white food on brown paper

माया चिल्डे्रन एकेडेमीकी प्रमुख शोवना कर्माचार्य भन्छिन्, ‘दही चिउरा खुबाउने प्रचलन बैज्ञानिक छ । गर्भवतीलाई पोषिलो खाना चाहिन्छ, दही चिउरा खुवाउँदा हाम्रो समुदायमा माछा, मासु, अण्डा, गेडागुडी,फलफुल, तरकारी, बारा लगायतका खानेकुरा बोकेर माइती पक्षबाट आउनुहुन्छ । दही चिउरा परम्पराले त गजबको सन्देश बोकेको छ ।’

उनी भन्छिन् ‘जन्मने बच्चा दही चिउरा कुरेर बसेको हुन्छ, दिएपछि छिटो जन्म लिन्छन् भन्ने मान्यता समेत समाजमा रहिआएको छ । गर्भावस्थामा रहेका महिला शारिरिक रुपमा केही कमजोर हुन्छन्, पोषिलो खाना खाँदा बच्चा जन्माउन पनि सजिलो हुन्छ ।’

नेपाली संस्कृतिलाई वेवास्ता गर्ने र विदेशी संस्कृतिको देखासिकी गर्नेहरुलाई काठमाण्डौँका युवा सन्जीव प्रश्न गर्छन् ‘के गर्ने ? के नगर्ने मानिसको स्वतन्त्रताको कुरा हो । तर विदेशी संस्कृतिमा रमाउँदा आफ्नो देशको दही चिउरा खुवाउने परम्पराको प्रचार किन नगर्ने ?’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com