सर्वोच्चको फैसला : नेताहरुले के भने?


प्रकाशित मिति : असार २८, २०७८ सोमबार

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि नेताहरु तथा कानुनविद्हरुले विभिन्न प्रतिक्रिया व्यक्त गरेका छन्। उनीहरुले सर्वोच्चको फैसला ऐतिहासिक भएको उल्लेख गर्दै सर्वोच्चले केपी ओलीको प्रतिगमनकारी कदमलाई रोक लगाएको र संविधानको रक्षा गरेको रुपमा लिएको जनाएका छन्।

प्रस्तुत छ फैसलाका बारेका नेताहरुद्वारा व्यक्त प्रतिक्रिया

पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रचण्डले सर्वोच्चको फैसला नेपाल र नेपालीको जीत र इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको टिप्पणी गरेका छन्। अदालतको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको उल्लेख गर्दै उनले भने, ‘संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो। त्यसकारण म सर्वोच्चको यो फैसलालाई स्वागत गर्दछु।’ पटक–पटकको संसद विघटन र संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता आजित भएको बताउँदै उनले सर्वोच्चको फैसलालाई नेपाली जनताको जीतको रुपमा लिनुपर्ने बताए।

बाबुराम भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले केपी ओलीको असंवैधानिक र प्रतिगमनकारी हर्कतमाथि सर्वोच्च अदालतले रोक लगाएको प्रतिक्रिया दिएका छन्। ‘खड्कप्रसाद एण्ड कम्पनीको असंवैधानिकरप्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक बधाइरधन्यवाद,’ सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले भनेका छन्। उनले संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थिर सरकार बनाएर प्रतिगमनलाई दण्डित गर्न आग्रह गरेका छन्।

शेरबहादुर देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाबाट लोकतन्त्र र विधिको शासनको रक्षा भएको प्रतिक्रिया दिएका छन्। सर्वोच्च अदालतले डर त्रासमा नभई संविधानको रक्षा गर्दै फैसला सुनाएको उनले बताएका छन्। ‘अदालत डराएको छैन, तर्सिएको छैन। अदालतले विधिको शासन र लोकतन्त्रलाई बचाएको छ,’ उनले भने।

उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले ऐतिहासिक र सकारात्मक काम गरेको टिप्पणी गरेका छन्। सर्वोच्चको फैसलाले नयाँ नजिर स्थापित गरेको र पुनस् प्रतिगमन परास्त भएको उनको भनाइ छ। ‘सर्वोच्चले गरेको फैसलाले ऐतिहासिक काम गरेको छ। देश, संविधान तथा लोकतन्त्र बचाउने र मुलुकलाई निकास दिने जुन कार्य गरेको छ, यो वास्तवमा ऐतिहासिक निर्णय हो,’ उनले भनेका छन्।

विमलेन्द्र निधि
कांग्रेस उपसभापति विमलेन्द्र निधिले सर्वोच्चको फैसलाले संविधान र संसदीय लोकतन्त्रको पक्षमा ऐतिहासिक र दूरदर्शी फैसला गरेको बताएका छन्। निधिले फैसलाले जनतामा सर्वोच्च अदालतप्रतिको विश्वास र सम्मानमा वृद्धि भएको बताए।

दिनेश त्रिपाठी
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली दुवैको हातखुट्टा सर्वोच्च अदालतले बाँधिदिएको टिप्पणी गरेका छन्। ‘फैसलाले केपी ओली र विद्यादेवी भण्डारीलाई खेल्ने ठाउँ दिएको छैन, दुवैका हातखुट्टा अदालतले बाँधेको छ, राष्ट्रपतिको गैरसंवैधानिक क्रियाकलापको अन्त्य गरेको छ,’ उनले भने, ‘आज संविधानवादको विजय भएको छ, आज सबै नेपालीले जितेको दिन हो, सबै नेपालीको सार्वभौमसत्ता स्थापित भएको दिन हो।’ उनले फैसलाबाट ओली र भण्डारीले संविधान तथा अदालतको शक्ति के हो भनेर बुझेको पनि उल्लेख गरे।

नारायणकाजी श्रेष्ठ
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्‍याएको टिप्पणी गरेका छन्। उनले प्रतिगमनविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टी, नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाइ ज्ञापन गरेका छन्।

रामचन्द्र पौडेल
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान रक्षा गर्ने अभियान सफल भएको बताएका छन्। उनले भनेका छन्, ‘संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ। यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई !

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com