मेरो देशलाई समृद्धिको दिशामा लैजाने महाअभियानमा छु : महाबिर पुन


प्रकाशित मिति : जेष्ठ २८, २०७८ शुक्रबार

– अनिल अधिकारी

सायद नेपालीहरुलाई महावीर पुनका बारेमा धेरै बुझाउनु पर्दैन । सरल र सादा जीवन शैलीका पर्यावाची हुन् महावीर पुन। महावीर साँचिकै मनका महावीर  छन्, मुलुक भित्र पर्ने हरेक अप्ठ्याराहरुमा उनी पहिले तम्सिन्छन्, र सामाजिक संजाल मार्फत देशबिदेशमा रहेका मनका धनिहरुलाई हारगुहार गर्छन् र भन्छन्, – ‘नेपालीहरु अप्ठ्यारोमा छन्, लौ तपाईहरुले सहयोग गर्नुस ।’

अहिले महावीरको परिचय राष्ट्रिय आविष्कार केन्द्रका कारण थप चुलिएको छ । देश बिदेशमा उनलाई त्यही केन्द्रको प्रमुखका रुपमा चिन्दछन् । महावीरको पछिल्लो योजनामा देशबिदेशबाट सहयोग गर्नेहरुको लर्को नै छ ।

महावीरले मुलुकको आर्थिक समृद्धिका लागि राष्ट्रिय आविष्कार केन्द्रको आविष्कार भएको जानकारी दिँदै सबैलाई सहभागि हुन अनुरोध गरिरहेका छन् । उनले यो पनि भनिरहेका छन्  -‘हामीलाई सहयोग आवश्यक छ तर दवाबमा होईन ।’

बिहिवार अमेरिकाको टेक्सासमा आयोजित एक कार्यक्रममा बोल्दै महावीरले भने – ‘हामी मुलुकभित्रको रकम बाहिर जान नदिनका लागि आविष्कार केन्द्रको स्थापना गरेका हौं, आउनुस हामीसंग हातेमालो गर्नुस । यो २१ औं शताब्दी हो, विश्व बजारमा सियो देखी हेलिकप्टर सम्म बेच्न सकिन्छ ।’

उर्जाशिल युवा पुस्ताको खुलेर प्रशंसा गर्दै पुनले भने – ‘अहिलेका भाईबैनीहरु साँचिकै उर्जावान छन्, हामीले उनिहरुलाई अवसर मात्रै दिनु पर्दछ ।’

आफु मुलुकको ब्यापार घाटा घटाएर देशलाई समृद्धिको दिशामा अगाडि बढाउने यात्रामा रहेको पुनको भनाई छ ।

पुनले भने – ‘हामीले हाम्रो संस्थामा संकलन भएको रकम बिज्ञानको युगमा जन्मिएका त्यस्तै युवाहरुलाई अवसर दिनमा खर्च गरेका छौं, जसले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने बस्तु बनाउँदै हुनुहुन्छ ।’

उनले थपे – ‘कसैले एक दुई हजार डलर सहयोग लिएर काम गरिरहनु भएको छ भने कसैले २०, ५० हजार डलर समेत लिएर आविष्कार गरिरहनु भएको छ ।’

ठट्यौली पारामा जिस्किँदै महावीरले थपे – ‘आविष्कार केन्द्रमा दुई चार जना जम्मा हुने दुई चार बोत्तल रौसी खाने र मासु भात खाने काम भईरहेको छैन्, साँचिकै हामीले मुलुकको समृद्धिका लागि प्रयोग हुने सामान बनाउँदै छौं ।’

कोरोना कहरका बेला देशभरबाट उनलाई फोन आएको स्मरण गर्दै पुनले भने – ‘मलाई कोरोनाबाट बच्ने चिज बनाउनुस भन्दै फोन आयो, मलाई त्यो बारेमा थाहै थिएन अनि कसरी बनाउनु । उनले भने देशभरबाट डाक्टरहरुले फोन गरेर भन्नु भो पिपि बनाउनु परो, मैले भने मलाई थाहै छैन्, कसरी बनाउनु । हलभरीका मान्छे गललल हास्दै थिए………अनि मैले भने देखाईदिनुस हामी बनाउँछौं ।’

उनले अगाडी थपे -‘पछी पछी हामीले चिकित्सकहरुले प्रयोग गर्ने सबै सामाग्री बनाईदियौं ।’

उनको यो भनाईमा सरकार तथा सम्वन्धित निकायप्रति एक प्रकारको व्यङय पनि समावेश थियो । कुनै बेला उनले आविष्कार केन्द्रको सहयोगार्थ सरकारको ढोका ढकढक्याए । यो आविष्कार केन्द्र देशका लागि हो, हामी गरेर देखाउँछौं भन्दै हात फैलाए तर सरकारी निकायमा रहेकाहरुले उनको त्यो आग्रहलाई ठट्यौली पारामा खिस्सिी गरेर टारे । अहिले त्यही केन्द्र चिकित्सकहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री बनाउनका लागि काम आयो ।

विश्वभरबाट प्राप्त रकम सहि ढंगले सदुपयोग भईरहेको जानकारी दिँदै उनले होनहार युवाहरुलाई परिचालन गरेर आविष्कार केन्द्रले देशका लागि मात्रै नभई विश्व बजारमा बिक्रि हुने सामाग्रीहरुको निमार्ण गरिरहेको घोषणा गरेका छन् । त्यसका लागि सबैले सहकार्य गर्न जरुरी रहेको उनको आग्रह छ ।

महावीर पुन अगाडी थप्छन् – ‘चाईनाले यस्तो बनायो, अम्रिकाले यस्तो बनायो भनेर समाचार मात्रै पढ्ने की नेपालमा पनि यस्तो बन्यो भनेर गर्व गर्ने, आउनुस हामीसंग हातेमालो गर्नुस ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com