बाइडेनको डेडलाइन अनुशार आजदेखि अमेरिकाका सबै बयस्क भ्याक्सिनका लागि योग्य


प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार

आजदेखि अमेरिकाका ५० वटै राज्य, वासिंटन डिसी र पोर्तोरिकोका बयस्कहरु कोरोनाबिरुद्धको भ्याक्सिनका लागि योग्य भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिनका लागि सबै बयस्कहरुलाई योग्य बनाउनका लागि अप्रिल १९ को डेडलाइन तय गरेका थिए ।

कतिपय राज्यले यसअगाडिदेखि नै सबै बयस्कहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिनको लागि योग्य बनाएपनि बाँकीले आजदेखि योग्य बनाएका हुन् । अब अमेरिकामा १६ बर्षभन्दा माथिको जो सुकैले पनि कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन पाउनेछन् । तर भ्याक्सिनका लागि अप्वाइन्टमेन्ट भने आवश्यक पर्न सक्नेछ ।

हवाई, मासाचुसेट्स, ओरेगन, न्युजर्सी, रोढ आइल्याण्ड र भर्मोन्टले सोमबारदेखि १६ बर्षमाथि सबैलाई भ्याक्सिनका लागि योग्य बनाएका हुन् । बाँकी राज्यहरुले अप्रिल १९ को डेडलाइन अगाडि नै १६ बर्षमाथिका सबै बयस्कहरुलाई भ्याक्सिन दिन सुरु गरेका थिए ।

अमेरिकामा अहिले दैनिक ३२ लाख डोजका दरले भ्याक्सिन वितरण भइरहेको छ । यसअगाडि यो दर दैनिक २५ लाख रहेको थियो । अमेरिकामा जुनको मध्यसम्म कुल जनसंख्याको ७० प्रतिशतले भ्याक्सिन लगाइसक्ने अनुमान गरिएको छ ।

अहिलेसम्म अमेरिकाको कुल बयस्क जनसंख्याको आधा भन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । सीडीसीका अनुशार कुल बयस्क जनसंख्याको ५० दशमलव ४ प्रतिशतले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । यो संख्या दुईवटै वा एउटामात्र भ्याक्सिन लगाएकाहरुको संख्या हो ।

कोरोनाबिरुद्धको दुईवटै भ्याक्सिन भने अमेरिकाको कुल बयस्क जनसंख्याको ३२ दशमलव ५ प्रतिशतले लगाइसकेका छन् । अमेरिकाको कुल जनसंख्याको भने झण्डै ४० प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् । दुबै डोज लगाउनेहरुभने कुल जनसंख्याको २५ दशमलव ४ प्रतिशत छन् ।

अमेरिकामा अहिलेसम्म १३ करोड १२ लाख ४७ हजार भन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् । दुबै डोज लगाउनेहरु ८ करोड ४२ लाख भन्दा धेरै रहेका छन् । अमेरिकामा ६५ बर्ष नाघेको कुल जनसंख्याको ८१ प्रतिशत अर्थात् ४ करोड ४३ लाखभन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् ।

न्युयोर्कमा मात्रै ८२ लाख भन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् । यो कुल जनसंख्याको ४१ द्यशमलव ४ प्रतिशत हो । अप्रिलभरमा २ सय मिलियन डोज भ्याक्सिन लगाउने बाइडेन प्रशासनको योजना रहेकोमा अहिलेसम्म २०९ मिलियन डोज भ्याक्सिन पाखुरामा लगाइसकिएको छ ।

अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट ५ लाख ६४ हजारको मृत्यु भइसकेको छ । संक्रमण पुष्टी हुनेहरुको संख्या ३ करोड १४ लाख नाघिसकेको छ । संक्रमितमध्ये ९८ प्रतिशत निको भएका छन् भने २ प्रतिशतको मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com