दक्षिण अफ्रिकाका राजदूत डा.विश्वकर्माद्धारा ओहोदाको प्रमाणपत्र प्रस्तुत 


प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार

दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत डा. निर्मलकुमार विश्वकर्माले दक्षिण अफ्रिकाका सम्माननीय राष्ट्रपति इरिल रामाफोसा समक्ष एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ । उक्त अवसरमा दक्षिण अफ्रिकाका परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा राजदूत डा. निर्मलकुमार विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको त्यहाँका राष्ट्रपति र अफ्रिकी जनता प्रतिको सुभकामना सन्देश प्रवाह गर्नु भएको थियो भने दक्षिण अफ्रिकाका राष्ट्रपति इरिल रामाफोसाले राजदूत डा. निर्मलकुमार विश्वकर्मालाई स्वागत गर्नु भएको थियो । त्यस अगाडि राजदूत डा. विश्वकमालाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।

राजदूत डा. विश्वकर्माले दक्षिण अफ्रिका गइ कार्यभार सम्हालेको एक हप्तामै ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्ने मौका पाउनु भएको हो ।

२०७७ साल फागुन ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डा. विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको थियो ।

गत असोज १५ गते बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तुका डा. विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतका अतिरिक्त बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम्बिया, जिम्वावे, ग्यावोन, मोजाम्विक, मोरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com