माओवादीले फिर्ता लियो प्रदेश १ का मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव


प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार

नेकपा (माओवादी केन्द्र) ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ। सोमबार बसेको प्रदेश सभा बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको हो।

प्रदेश सभा बैठकमा बोल्दै माओवादी केन्द्रका संसदीय दलका नेता एवं अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीविरुद्धको प्रस्ताव फिर्ता लिएको बताए। प्रतिनिधिसभा विघटनपछि गत पुस १२ गते तत्कालीन नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका ३७ सांसद्ले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

अविश्वासको प्रस्तावमा आङ्बो र समर्थकमा राजकुमार राई थिए। उनीहरूले अर्को मुख्यमन्त्रीको रूपमा एमालेका भीम आचार्यलाई प्रस्ताव गरेका थिए।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेको नेपाल समूहका सांसद्ले यही चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए। त्यसपछि अविश्वासको प्रस्ताव पारित गर्ने संख्या नपुग्ने भएपछि माओवादी केन्द्रले प्रस्ताव फिर्ता लिएको हो।

९३ सिट रहेको प्रदेश सभामा एमालेका ५१ सांसद् छन्। यस्तै, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५ सांसद् छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com